विदेश सपना : कति क्षति, कति उपलब्धि ?


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

– लीलामणि पौड्याल

केही दिनअघि पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलको एक सामाजिक जमघटमा विदेश जाने युवाहरूको लर्कोबारे कुरा उठ्यो । त्यहाँ अमेरिका, अस्ट्रेलिया, क्यानाडा, कोरिया, चीन, जापान र युरोप पठाउने परामर्शदाताका नाममा ठूलो संख्याका व्यक्ति/संस्था सक्रिय रहेछन् । धेरैजसो भर्खर उच्च माध्यमिक तह सकेका, स्नातक र केही स्नातकोत्तरहरू त्यस्ता परामर्शदाताकहाँ झुम्मिने गरेको जानकारी पाइयो । बुटवलकै स्थायी बासिन्दादेखि पहाडबाट झरेका हजारौँ युवकयुवतीलाई विभिन्न विधि अपनाएर विदेश पठाउन सकिने प्रलोभन त्यहाँ दिइँदो रहेछ ।

व्यावसायिक काम, कुनै सभा/सम्मेलनमा भाग लिने वा कलेजमा उच्च शिक्षा अध्ययन गर्ने अवसरका नाममा हजारौँ रुपियाँ दरखास्त र प्रक्रियामै खर्च गराइन्छ । अझ लाखौँ खर्च गरेर अस्ट्रेलिया, अमेरिका, क्यानाडा वा युरोप छिर्न मात्र पाए पुग्छ भन्दै परामर्शदाताकहाँ धाउनेको मनोदशा पनि भिसा पाउनु महान् उपलब्धि हो र भाग्यको ढोका खुल्नु हो भन्ने खालको हुन्छ । भिसा नमिल्नुमा भाग्यलाई दोष दिँदै एकपछि अर्को प्रयासमा वर्षौं बिनाकाम हल्लिएर ओहोरदोहोर गर्ने पनि बग्रेल्ती छन् । भिसाका लागि जेसुकै तिकडम गर्न तत्पर हुने जमातले विदेशमा पैसाको बोट हुन्छ र उनीहरू जतिसक्दो चाँडो त्यहाँ पुगेर पैसा टिप्नेछन् जस्तो गर्छन् ।

पलायनको सामाजिक घाउ

उपर्युक्त युवा प्रवृत्तिका खास तीनवटा असर प्रत्यक्षत: समाज र मुलुकलाई परेको छ ।

एक : सक्रिय र सिर्जनशील उमेर समूहले आफ्ना सबै क्षमता र स्रोत एकपछि अर्को भिसाका लागि खर्च गर्छ । कदाचित भिसा लागेन भने ? पैसा खर्च भइसकेको हुन्छ । काम गर्ने बानी छुटिसकेको हुन्छ । कमाइको बाटो नबन्दै उमेर ढल्केको, आफ्नै उमेरका साथीभाइ, जो भिसाका लागि चक्करमा परेनन्, उनीहरू आ–आफ्नो पेसामा स्थापित भइसकेका हुन्छन् । नयाँ व्यवसायमा नयाँ मान्छेका रूपमा प्रवेश गर्न हीनताबोध हुन्छ । फेरि व्यवसाय चलाउन चाहिने रकम भिसा प्रक्रियामा खर्च गरेपछि लगानीको अभाव हुन्छ । ढल्किँदो उमेर र भिसामा असफलतासँगै आत्मविश्वास गिर्छ र जोखिम उठाउने क्षमतामा ह्रास आउँछ । फलस्वरूप नयाँ व्यवसाय सञ्चालनका लागि सिर्जनशीलताको अभावले प्रगति हुन नसकी थप बेचैनी बढ्छ ।

दुई : भिसा पाइहाले पनि पूर्वीय संस्कृति, खानपान, व्यवहार र जीवनशैलीमा अभ्यस्त युवा एकाएक पूरै नवसिकारु बनेर नयाँ समाजमा घुलमिलको अभ्यास गर्नुपर्छ । नयाँ कार्य–वातावरण, नयाँ सामाजिक सम्बन्ध र शक्ति संरचनाका कारण जीवन सहज बनाउन थुप्रै संघर्ष र लगानी गर्नुपर्छ । यदि पश्चिमी मुलुकमा कमाएको पैसाबाट नेपालमा नयाँ व्यवसाय वा जीवन सुरु गरौँला भन्ने ठानेको छ भने त्यो पनि बचकना हुन्छ । भिसा लिँदासम्म एउटा जीवनशैली र संस्कार । भिसापछि कथित कमाउने उमेरमा पूरै जीवनशैली र संंस्कार परिवर्तन गरेर नयाँ जीवन यापन । र, तेस्रोपटक नेपाल फर्केर थप नयाँ सामाजिक सम्बन्ध बनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा सुखपूर्ण जीवन जिउने कसैले कल्पना गरेर बाहिर कामको खोजीमा जाने हो भने त्यसभन्दा अपरिपक्वता अरू केही हुने छैन । उसले जीवनमा दु:ख मात्र पाउनेछ ।

यदि पश्चिमी मुलुक वा जापानमा एकपटक छिरेपछि नेपाल नफर्किने विचार गरेकै हो भने पनि उसले त्यहाँ सुखसँग जीवन जिउन सक्ने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसो त पश्चिमी जीवनशैलीका कारण मान्छेमा तनाव, असहिष्णुता, एकलकाँटेपन र आत्मकेन्द्रित आचरण/व्यवहार बढ्दै गएका छन् । र, त्यसबाट मुक्ति खोज्दै पश्चिमाहरू सुखपूर्वक जीवनयापनका लागि क्रमश: पूर्वीय दर्शनमा आधारित योगमय जीवनको खोजीमा छन् । उनीहरू योगप्रति यति धेरै आशक्त छन् कि अहिले संसारमा सबैभन्दा धेरै योगाभ्यास हुने मुलुक नै अमेरिका हो ।

जुन समाज र जीवनलाई हाम्रा युवाले आदर्श ठान्छन्, त्यही समाज र जीवन भोग्नेहरूले हाम्रा पूर्वीय सामाजिक मूल्य, मान्यता र जीवनपद्धतिलाई आदर्श मानेर हामीबाटै सिक्दै र अभ्यास गर्दै छन् । त्यसैले कम्तीमा त्यहाँका स्थापित रैथानेहरूले प्राप्त गर्न नसकेको सुखमय जीवन नेपाली युवालाई पश्चिमी समाजले तयार गरिदिएको त पक्कै छैन, जसले उतै स्थायी बसोवास गर्नेहरूले सुखमय जीवनयापन गर्न सम्भव हुनेछ । अहिले युवा अवस्थामा अमेरिका वा अस्ट्रेलिया हानिनेहरूले छोराछोरी भएपछि थाहा पाउनेछन् कि सन्तानको जागिर, व्यवसायका कारण केही स्थायित्व पाइसकेपछि सबै छाडेर नयाँ जीवन सुरु गर्ने गरी नेपाल फर्किन सम्भव छैन र त्यहीँ पनि सुखमय जीवनयापन सम्भव हुनेछैन ।

तीन : अमेरिका, अस्ट्रेलिया वा युरोपमा राम्रै प्रगति गरेको ठानिने पहिलो पुस्ताको प्रवासी नेपालीले जुन स्तरको आर्थिक–सामाजिक जीवन यापनका लागि जति संघर्ष र मिहिनेत खर्चेको हुन्छ, त्यही मिहिनेत र संघर्षले त्यसभन्दा उत्तम जीवनयापन नेपालमै सम्भव हुनेछ । किनभने, नेपाल अझै पनि युरोप, अमेरिका र अस्ट्रेलियाजस्तो प्रतिस्पर्धी छैन । यहाँ नेपाली र केही भारतीयसँग प्रतिस्पर्धा गर्न सके सहज रूपमा स्थापित भइन्छ । तर, अस्ट्रेलिया र अमेरिकामा त स्थापित हुन संसारभरिबाट आएका र पुस्तौँ त्यहीँ बसोवास गरेर प्रतिस्पर्धी भएका करोडौँ मान्छेसँग प्रतिस्पर्धा गर्नुपर्छ, सम्मानजनक काम र जीवन यापनका लागि । त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका एक सहप्राध्यापक मित्र यहाँको अवसर छाडेर अमेरिका पुगे र केही वर्षपछि भन्दै थिए, ‘अमेरिकामा भन्दा नेपालमा खराब काम नगरीकनै पेसा–व्यवसायमा लागेर, पद र पैसा आर्जन गरेर राम्रो हैसियतको जीवन जिउन सहज छ ।’ त्यसको अर्थ हो, अवसर हामीसँगै छ । तर, हामी अर्काको मुलुकमा गएर जे पनि गर्न तयार हुन्छौँ । आफ्नै ठाउँमा भने कुरा काट्ने, मिहिनेत नगर्ने, तत्काल ठूलो फल खोज्ने, अव्यवस्था भए हटाउन पहल नगर्ने, बरू त्यही अव्यवस्थाबाट आफूले कसरी लाभ लिने भनेर प्रयत्न गर्ने, त्यो असफल नभए कसैउपर दोषारोषण गर्ने हाम्रो प्रवृत्ति दोषी छ ।

बुढेसकालको कहर 
अहिले धेरै नेपाली बाबुआमा आफ्ना सन्तान अमेरिका, क्यानाडा, अस्ट्रेलिया वा युरोप छन् भन्दा गर्व गर्छन् । त्यसरी जाने सन्तानको सजिलै बिहे भएको सगर्व सुनाउँछन् र भिसा लागेको खुसीमा उत्सव मनाउँछन् । कतिपय आमाबाबु छोराछोरीको कर्मथलो युरोप, अमेरिका वा अस्ट्रेलिया पुगेर खुसी भएर फर्किएका तस्बिर सामाजिक सञ्जालमा छाउँछन् । अझ बुहारीले बच्चा जन्माएपछि धरालो बन्न जाने आमाहरूको लर्को एकदमै ठूलो छ ।

सन्तान विदेशिनुको मानवीय मूल्यबोध त तब हुनेछ, जब मातृदेव, पितृदेवलाई सामान्य हेरचाह गर्ने, औषधिमूलो खुवाइदिने र जीवनका अन्तिम क्षणमा वात्सल्य दिने सन्तान बाह्य मुलुकमा भौतिक सुविधायुक्त तर मानवीय मूल्यका हिसाबले खोक्रो, निरस, आत्मकेन्द्रित र प्राविधिक जीवन बिताइरहेको अवस्थाबाट गुज्रिनुपर्छ । किनभने, मातृदेवो भव: पितृदेवो भव: भन्ने, आमाबाबुको सेवालाई सर्वोत्तम ठान्ने संस्कारसँगै हुर्किएको समाज हो यो । जन्मेपछि तीन प्रकारका ऋणबाट मुक्त हुनुपर्छ र तीमध्ये पहिलो ऋण मातृऋण हो भन्ने मूल्य–मान्यतामा विकसित समाज हो यो ।

काठमाडौँको एक सम्पन्न, रैथाने, उच्च घरानिया, सरकारी उच्च पदमा पुगेका मेरा एक अग्रज क्यान्सरबाट मृत्युशय्यामा कहर्‍याइरहँदा अमेरिका बस्ने छोरा आए । महिना दिनको नेपाल बसाइमा पनि बुबाको सास गएन । अर्धचेत अवस्थामा छोडेर आफ्नो जागिर बचाउन जानैपर्ने भयो भन्दै अमेरिका फर्किए । पछि ती बाबुको मृत्यु आफ्ना भाइहरूको घरमा भयो र छोरा अमेरिकाको जागिर जोगाएर नेपालमा किरिया गर्नका लागि १२ दिनको छुट्टी लिएर आए । त्यो सब केका लागि भन्ने प्रश्नले मलाई घोचेको थियो । ती मान्यजनका छोरा अमेरिकामा जुन स्तरको जीवन बाँचेका छन्, त्यो त सहजै नेपालमै बाँच्न उनलाई कुनै कठिनाइ थिएन, छैन ।

अब यसो गरौँ
सारमा, पढेलेखेका युवालाई कुनै पनि तरिकाले अमेरिका, अस्ट्रेलिया वा क्यानाडा पठाउन अभिभावकले उत्प्रेरित नगर्नूस् । त्यसको आर्थिक मूल्य चर्को त छँदैछ, सामाजिक–सांस्कृतिक मूल्य पनि चुकाइनसक्नु छ । त्यसैले उनीहरूलाई तथाकथित कलेज भर्ना, सेमिनार, गोष्ठीमा सहभागिताको बहाना बनाएर विदेश जाने नाममा लाखौँ रकम दलाललाई खुवाउनुको सट्टा त्यही लगानीबाट व्यवसाय गर्न उत्प्रेरित गरौँ । इमानदारी, मिहिनेत, समर्पण, लगनशीलता र अनुशासन भएमा एक न एक पेसा–व्यवसायबाट आफँै मालिक बन्न सकिन्छ । अरूलाई रोजगारी दिन सकिन्छ । यी अवसर छाडेर अर्काको मुलुकमा तुच्छ, सबैले छाडेका, अत्यन्त कष्टकर, कम प्रतिफल दिने, कुनै भविष्य नभएका दैनिकीमा जान उपयुक्त हुँदैन भन्ने शिक्षा दिनु आवश्यक छ ।

विकसित मुलुकमा जुनसुकै पेसा/व्यवसाय यहाँभन्दा प्रतिस्पर्धी हुन्छ । त्यहाँको धेरै कमाइ, महँगो जीवनयापन र आर्थिक–सामाजिक हैसियतको तुलना गर्दा यहीँको सामान्य कमाइ उच्च हुन्छ । मुनामदनमा लक्ष्मीप्रसाद देवकोटाले ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले !’ भन्ने कालजयी सिर्जना गरेका होइनन्, यसले मानवीय मूल्य बोकेको छ भन्ने सन्तानलाई सिकाऊँ ।

छोराछोरी विदेशिँदा कालान्तरमा आफ्नै जीवन सकसपूर्ण र कष्टकर हुन्छ भन्ने आत्मबोध गर्न सक्नुपर्छ । छोराछोरीको माया–ममता गुमाएर बदलामा कुनै धनदौलतले पूर्ति गर्न सक्दैन भन्ने ज्ञान पुरानो पुस्तामा हुन जरुरी छ । हामीले ठानेको स्वर्गमा जीवन जिउन धेरै कठिन र संघर्षपूर्ण छ भन्ने सन्देश युवा पुस्तामा प्रवाहित गर्न प्रयत्नशील रहनुपर्छ । विदेशमा जति कमाएर जुन स्तरको जीवन औसत नेपालीले बिताउँछन्, त्यसभन्दा सहज र सरल जीवन यहाँको हाम्रो औसत आम्दानीबाट यापन गर्न सकिन्छ भन्ने शिक्षा नयाँ पुस्तालाई दिनुपर्छ । यदि हामीकहाँ समस्या छन् भने समाधानको उपाय यहीँ बसेर खोज्ने हो, भागेर वा आफ्नै लागि विदेशमा गएर होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।

अब नयाँ ठाउँमा नयाँ जीवन सुरु गरेर नेपालीले कमाउने धनसम्पत्तिबाट कुनै पनि सामाजिक प्रतिष्ठा नपाएपछि उनीहरूलाई नेपालको पछौटेपनले सताउनेछ । मुलुक छाडेर आफ्नो व्यक्तिगत लाभका लागि विदेशिने जोकोहीलाई नेपालको अवनतिबारे आलोचना गर्ने र यहीँ संघर्ष गरिरहेकालाई दोषारोपण गर्ने नैतिक अधिकार हुने छैन भन्ने हेक्का राख्नुपर्छ । संसारको कुनै पनि ठाउँमा नेपालीलाई भनेर कसैले अवसर जुटाइदिएर बसेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com