बिमस्टेक मन्त्रीस्तरीय बैठक काठमाण्डूमा


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलनको बिहीवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

तीन वर्ष अघि नेपाल बिमस्टेकको अध्यक्ष भएपछि पहिलो पटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा विभिन्न १४ वटा विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, “अहिलेसम्म भएको प्रगतिको समीक्षा गर्ने र भावी दिशा तय गर्ने काम हुन्छ । दोस्रो, खुल्ला व्यापार क्षेत्र स्थापना गर्ने भन्ने कुरा छ। तेस्रो, बिमस्टेक क्षेत्रमा बिजुलीको ग्रीड कनेक्सन सम्वन्धी विषयमा छलफल हुने र त्यस विषयमा निर्णय गर्ने कुरा छ।”

बिहीवार दिउँसो सचिवस्तरीय बैठक हुने र साँझ प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

शिखर सम्मेलन

मन्त्रीस्तरीय बैठक शुक्रबार हुनेछ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायत सहभागी अन्य ६ देशका मन्त्रीहरु बिहीवार नेपालमा आइपुग्ने जनाइएको छ।

बैठकले नेपालमा अब हुने भनिएको बिमस्टेक शिखर सम्मेलनको तिथि तय गर्ने बताइएको छ।

नेपाल अहिले बिमस्टेक र दक्षिण एसियाली देशहरुको क्षेत्रीय सहयोग संगठन सार्क दुवैको अध्यक्ष राष्ट्र हो।

कतिपयले बिमस्टेकले सार्कको महत्वलाई घटाएको र विशेषगरी पाकिस्तान सदस्य नभएको बिमस्टेकलाई सक्रिय बनाउन भारत बढी इच्छुक देखिएको बताउने गरेका छन्।

तर परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले भने, “यी दुवै सम्मेलनको आ-आफ्नै विशेषता छन्। हामी अहिले बिमस्टेकबाट हुने फाइदाहरुको विषयमा मात्र केन्द्रित छौं। ”

बिमस्टेकको बैठकमा सहभागी बन्न बिहीबार काठमाण्डू आइपुग्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणको विषयमा पनि दुईपक्षीय छलफल हुने ठानिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com