अमेरिकाले नेपाललाई दिने थप ३१ मिलियन डलर केमा खर्च हुनेछ?
प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार
अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच न्युयोर्कमा भेटवार्ता। भेटका क्रममा अमेरिकाले नेपालमा बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने योजना घोषणा गरेको थियो। फोटो: राजन काफ्ले/खसोखास
न्युयोर्क — नेपालमा आएको विनाशकारी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाले घोषणा गरेको थप ३१ मिलियन अमेरिकी डलर विभिन्न तीन प्रमुख क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो सहयोगसँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनामा अमेरिकी सहयोग ३६ मिलियन डलरभन्दा बढी पुग्नेछ।
स्थायी पुल निर्माणका लागि १० मिलियन डलर
अमेरिकाले बाढीबाट क्षतिग्रस्त महत्वपूर्ण यातायात पूर्वाधार पुनःस्थापना गर्न १० मिलियन डलर छुट्याउने योजना बनाएको छ।
यस रकमबाट बाढी प्रभावित क्षेत्रमा स्थायी तथा विशेष डिजाइन गरिएका पुल निर्माण गरिनेछ। अमेरिकी विदेश मन्त्रालयका अनुसार पुलहरू अमेरिकी कम्पनीबाट स्रोत गरिनेछन् र आवश्यक बजेटका लागि अमेरिकी कंग्रेससँग सहकार्य गरिनेछ।
यी पुलहरूले क्षतिग्रस्त यातायात पूर्वाधार पुनःस्थापना गर्नुका साथै प्रभावित क्षेत्रबीचको आवागमन तथा क्षेत्रीय सम्पर्क सुधार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

खानेपानी, सरसफाइ, आश्रय र जीविकोपार्जनका लागि ८ मिलियन डलर
थप ८ मिलियन डलर बाढी प्रभावित समुदायको तत्काल तथा मध्यम अवधिको मानवीय आवश्यकतामा खर्च गर्ने योजना छ।
यसअन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा, आश्रय व्यवस्था, संरक्षणसम्बन्धी सहायता, जीविकोपार्जन सहयोग, जाडोयामका लागि आवश्यक तयारी तथा सहायता समावेश छन्।
अमेरिकी निर्मित ड्रोनका लागि १३ मिलियन डलर
बाँकी १३ मिलियन डलर अमेरिकी प्रविधिबाट निर्मित ड्रोनका लागि उपलब्ध गराउने योजना रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यी ड्रोनहरू भविष्यमा नेपालमा हुने विपद्का बेला खोज तथा उद्धार, राहत सामग्री ढुवानी तथा पुनःस्थापना कार्यमा सहयोग गर्न प्रयोग गर्ने उद्देश्य राखिएको छ।
नयाँ ३१ मिलियन डलरको घोषणासँगै नेपालमा बाढी प्रतिकार्य र पुनःस्थापनाका लागि अमेरिकाले घोषणा गरेको कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै आवश्यकताका आधारमा थप सहायता पहिचान र उपलब्ध गराउने जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच न्युयोर्कमा भएको भेटका क्रममा यो नयाँ सहायता प्याकेज घोषणा गरिएको हो। भेट संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा भएको थियो।





