विद्यालयले किताब र पोसाक बेचे दण्डित गर्छौ : मेयर साह


प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् ।

विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर साह बताउँछन् ।

‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेको छ,’ मेयर साहले आज फेसबुकमा लेख्दै भनेका छन्, ‘यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ। उनले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरेका छन् ।

महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गरेका थिए । महानगरले किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com