यस्तो छ तीजको पौराणिक कथा

प्रकाशित मिति : भाद्र १८, २०७३ शनिबार

पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ। यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो।

हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ। उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ। माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ। साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ। तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे। तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ। तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ। यसबारे म तपाईंँको राय जान्न चाहन्छु।” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो। श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ। यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून्। नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो। तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले।

तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -‘मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो। म विचित्र धर्मसङ्कटमा छु। अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन।’ तिम्री ती सःगिनी अति नै चङ्ख र समझदार थिइन्। उनले तिमीलाई भनिन् – ‘प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ। हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ। दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न। मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ।’ अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ। यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो। उहाँ सोच्न थाल्नुभयो – ‘मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?’ यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो। यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ। भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ। रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ। तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ।

त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ – ‘मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु। यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस्। त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ। भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामाग्री नदीमा सेलाई आफ्नी सहेलीसहित व्रतको समापन गर्यौ। त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो। तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो। तिमीले भन्यौ – ‘पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ। मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो। आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु। म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु। तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो। केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो।

भगवान शिवले अझ भन्नुभयो – हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन ब्रत बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो। यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ। जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ। यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ। हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ। भगवान शिवले पार्वतीजीलाई भन्नुभयो – यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ।

विकिपीडियाबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com