शिवलिंग ब्रह्माण्डको सृष्टिको मूल हो, गाँजा-भाङ-धतुरो खाने गजेडीको जनेन्द्रीय होइन


प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार

gray concrete statue under blue sky during daytime

शिव साकार रुपमा आदि गुरु, आदि योगि, आदि नर्तक, आदि तान्त्रिक र निराकार रुपमा समस्त सृष्टिको पुरुष तत्व समस्त ब्रह्माण्ड स्वरुप हो । शिवरात्रीमा शिवको पूजा प्रकृति र पुरुषको मिलनबाट उत्पन्न भएका समस्त जगत हामी सबैको ‘म’ स्वयंको उत्पति र बिकाश हुनुको कृतज्ञता ज्ञापन पनि हो ।

धार्मिक ग्रन्थ वा साहित्यमा प्रतिकको रुपमा मानवीकरण गरेर ब्याख्या गरिएपनि शिव एउटा मानव होइनन् । धर्ती माता भनेर एउटा नारीको रुपमा देखाइनु, गंगालाई एउटी नारीको रुपमा देखाइनु वा सूर्यलाई पिता भनेर एउटा पुरुषको रुपमा देखाइनु पनि यस्तै प्रतिकात्मक रुप मात्र हुन् । जसरी धर्ति माता भने पनि तपाई हामीलाई भात पकाएर खान दिने, ढिला गरी घर गए बाटो हेरेर बस्ने आमा होइनन् तर हाम्री बासस्थान हुन् त्यसै गरी शिव कुनै भाङ धतुरो खाने गजेडी बाबा होइनन् समस्त ब्रह्माण्ड स्वरुप हुन् ।

fantasy, ice cream, snow

मानव, जनावर, वनस्पति देखि एक कोषीय जीवनमा पुरुष तत्व र नारी तत्व छ । यसरी नै सम्पूर्ण ब्रह्माण्डको सम्पूर्ण जीव र निर्जीव दुबैको सृष्टिको पुरुष तत्व शिव र नारी तत्व शक्ति मानिएको छ । पुरुषत्वको प्रतिक हो शिव अनि नारित्वको प्रतिक हो शक्ति । दुबैको एउटै प्रतिमा अर्ध नारिश्वर वा एक रुप हो शिव लिङ्ग । शिव लिङ्गमा पुरुष भाग र स्त्री भाग दुवै हुन्छन् ।

प्रत्येक हामी (मानव देखि एक कोषीय जीव) मा पुरुष तत्व वा स्त्री तत्व वा दुवै अवस्थित हुन्छ । ब्रह्माण्डको सारा सृष्टिको मूल शिव लिङ्ग र हाम्रो जनेन्द्रीयको बीचको तुलना गर्नु भनेको समुद्र र र पानीको अणुको तुलना संग पनि मेल खाँदैन । शिव लिङ्ग भन्दै नाङ्गा बाबाले आफ्नो लिङ्ग ढोगाउनु पाखण्डको पराकाष्टा हो । शिवलिङ्ग भाङ धतुरो खाने कुनै गजेडीको जनेन्द्रीय होइन । शिव स्वयं जीवन, जगत, ज्ञान, विज्ञान, कला, नृत्य, तन्त्र, योग आदि सबैका जन्म दाता हुन र शिवलिङ्ग यी सम्पूर्णको जन्मको कारक हो, मुल हो, एउटा प्रतिक हो।

silhouette of man standing on top of mountain during daytime

धर्म मान्नु नमान्नु अलग कुरा हो तर माने पनि नमाने पनि बुझेर समर्थन वा बिरोध गर्नु श्रेयस्कर हो । यसको पूजा भन्नु आफ्नो अस्तित्वको लागि कृतज्ञ हुनु हो । सारा जगत प्रति आभारी हुनु हो । शिव लिङ्ग भयो अनि जगत भयो अनि म भएँ । मेरो अस्तित्व भयो । मेरो अस्तित्वको कारक जो हो उसलाई म नमन गर्दछु । जीवनको अस्तित्वको कारक मेरा माता पिता पनि हुनुहुन्छ र म स्वयं पनि हुँ । सारा जीवन मा समाहित सम्पूर्ण जगत, मेरा माता पिता र म स्वयंलाई म नमन गर्दछु । त्यो नमन नै शिव लिङ्गलाई नमन हो । शिव लिङ्गको पूजा हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com