तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थलमा कर्मचारीको हडताल


प्रकाशित मिति : फाल्गुन ३, २०७९ बुधबार

तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् ।

हडतालका कारण दशौँ हजार यात्री प्रभावित हुने निश्चित छ भने आन्तरिक उडान पनि रद्द हुने वा विलम्ब हुनेछ । विमान व्यवस्थापनलाई दबाब दिन गरिएको उक्त घोषणाप्रति सम्बन्धित पक्षले कुनै प्रतिक्रिया दिएको छैन । कर्मचारी युनियनका प्रतिनिधि, उड्डयन सुरक्षा कर्मचारी वार्तामा बसेका छन् ।

जारी वार्ताबाट परिणाम पनि प्राप्त भएको छैन । कर्मचारी युनियनका प्रतिनिधिले जीवन यापनको लागत बढेको तर आयमा कुनै वृद्धि नभएकाले तलब वृद्धिको माग गर्दै हडतालमा उत्रनु परेको बताएका छन् । ।

हडतालबाट ब्रेमेन, डर्टमन्ड, फ्रान्कफर्ट, ह्याम्बर्ग, ह्यानोभर, म्युनिख र स्टटगार्ट सहरका एयरपोर्टमा असर पर्नेछ । यद्यपि भूकम्प प्रभावित टर्की र सिरियामा सहायता पु¥याउने उडान प्रभावित नहुने कर्मचारी युनियनका एक सदस्यले बताएका छन् । उनले यात्रीलाई मजदुरका समस्या बुझ्न तथा वैकल्पिक योजना बनाउन अनुरोध गरेका छन् ।

बढ्दो बजार मूल्य, ऊर्जा, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बढेको मूल्यले आफूहरूलाई अनिश्चयतर्फ धकेलेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले एक विज्ञाप्ति निकालेर स्पष्ट गरेका छन् ।

युनियनले गत महिना बर्लिन ब्रान्डनबर्ग एयरपोर्टमा यस्तै हडताल गरेको थियो । त्यसबेला तीन सय उडान रद्द वा पुनर्तालिका गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com