बैंकमा जम्मा रकमबारे सामाजिक सञ्जालमा विवरण सार्वजनिक भएपछि आत्मदाह गरेका आर्चायकी श्रीमतीद्वारा आपत्ति प्रकट


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

आत्मदाह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको छ ।

बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उहाँले बताउनुभयो । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उहाँको भनाइ छ ।

गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटिनुभएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताउनुभयो । “मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।”

उहाँले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताउनुभयो ।

सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ ।
अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताउनुभयो । “हिजो(बुधबार) सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो”, उहाँले भन्नुभयो । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उहाँको भनाइ छ ।

इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उहाँले बताउनुभयो । उहाँका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।

अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराउनुभएको थियो । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उहाँको भनाइ छ ।

श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौँ आउने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com