नेटोको कूटनीतिलाई लिएर रुस आक्रोशित, युक्रेनमा मिसाइलको वर्षा, ११ जनाको मृत्यु


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

रुसी सुरक्षा बलले एका बिहानै क्षेप्यास्त्र र ड्रोन हमला मार्फत युक्रेनको झण्डै एक दर्जन प्रान्तलाई निशाना बनाए। ति आक्रमणमा परि ११ जनाको मृत्यु भएको छ । युक्रेनको राज्य आपतकालीन सेवाका प्रवक्ता अलेक्ज्याण्डर खोरुन्दझीले युक्रेनी टेलिभिजनसँग कुराकानी गर्दै आक्रमणमा कम्तिमा ११ जना घाइते भएको बताए।

उल्लेखनीय कुरा के छ भने, एक दिन अघि अमेरिका र जर्मनीले युक्रेनलाई युद्धमा मद्दत गर्न उच्च शक्तिको ट्याङ्क दिने निर्णय गरेपछि रुसले नयाँ आक्रमण गरेको थियो ।

कीभका मेयर भिटाली क्लिट्स्कोले आक्रमणमा परि कीभमा एक जनाको मृत्यु भएको बताए, जुन नयाँ वर्षको पूर्वसन्ध्यापछि राजधानीमा पहिलो पटक यस्तो मृत्यु हो। उनले रुसी आक्रमणमा अन्य दुई जना घाइते भएको बताए ।

कीभ सहर प्रशासनका प्रमुख सेर्ही पोप्कोले युक्रेनी वायुसेनाले क्षेत्रतर्फ हानेका १५ वटा मिसाइललाई नष्ट गरेको बताए । युक्रेनको जापोरिज्झा प्रान्तका अधिकारीहरूले उर्जा केन्द्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको बताएका छन्।

नेटो देशहरूले युक्रेनलाई ट्याङ्क आपूर्ति गरेकोमा रुसले कडा असन्तुष्टि व्यक्त गरेको छ। अमेरिकाका लागि रुसी राजदूतले नेटो देशका ट्याङ्कहरूलाई अन्य हतियारजस्तै सजिलै ध्वस्त पार्ने चेतावनी दिएका छन् । अमेरिकाले युक्रेनलाई एम१ अब्राम, जर्मनीले लियोपार्ड ट्याङ्क र बेलायतलाई च्यालेन्जर–२ ट्याङ्क दिने घोषणा गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com