२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ल्याटिन अमेरिकामा अमेरिकी सैन्य कारबाही तीव्र: १ वर्षमा २३० भन्दा बढीको मृत्यु

Photo: Shelby Cohron / Unsplash

ल्याटिन अमेरिकामा संदिग्ध लागूऔषध तस्करहरूविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चलाइरहेको महिनाौँ लामो अभियानका क्रममा शनिबार क्यारिबियन सागरमा एक डुङ्गामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। अमेरिकी सेनाले लागूऔषध तस्करीका लागि प्रयोग गरिएको आशङ्कामा उक्त डुङ्गामाथि प्रहार गरेको जनाएको छ।

ट्रम्प प्रशासनले करिब एक वर्षअघि लागूऔषध आतङ्ककारीहरूलाई लक्षित गर्न शुरुगरेयता अमेरिकी सेनाद्वारा गरिएका ६९ वटा आक्रमणहरूमा कम्तीमा २३१ जनाको ज्यान गइसकेको छ। शनिबारको घटना यसै सिलसिलाको पछिल्लो कडी हो।

पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा भएका धेरैजसो सैन्य कारबाहीका वक्तव्यहरूमा जस्तै, अमेरिकी साउदर्न कमान्डले आफ्ना सैनिकहरूले मुख्य तस्करी मार्गहरूमा संदिग्ध तस्करहरूलाई लक्षित गरेको दाबी गरेको छ।

यद्यपि, उक्त जलपोतमा साँच्चिकै लागूऔषध ओसारपसार भइरहेको थियो भन्नेबारे अमेरिकी सेनाले कुनै स्पष्ट प्रमाण भने उपलब्ध गराएको छैन। सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको एउटा भिडियोमा एउटा गुडिरहेको डुङ्गा र लगत्तै ठूलो विस्फोटको ज्वाला देखिएको छ।

ट्रम्प प्रशासनले ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा स्थलगत रूपमा पनि सैन्य कारबाही विस्तार गर्न मित्रराष्ट्रहरूसँग सम्झौताको पहल गरिरहेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले गत महिना पानामा भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले आफ्नो भूमिमा आपराधिक समूहविरुद्ध संयुक्त सैन्य कारबाही सञ्चालन गर्न अमेरिकालाई अनुमति दिन सहमति जनाएको दाबी गरेका थिए। तर, ग्वाटेमालाले भने यस्तो कुनै सम्झौता नभएको भन्दै त्यसको खण्डन गरेको छ।

इक्वेडरले भने गत मार्च महिनादेखि अमेरिकासँग मिलेर यस्तै किसिमका अभियानहरू सुरु गरिसकेको छ। साउदर्न कमान्डका अनुसार, गत महिना अमेरिकी सेनाले इक्वेडरसँग मिलेर पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करी गर्ने डुङ्गाहरूका लागि इन्धन भर्ने स्टेसनका रूपमा प्रयोग भइरहेको एउटा डुङ्गामा नियन्त्रण जमाई त्यसलाई डुबाएको थियो।

राष्ट्रपति ट्रम्पले अमेरिका ल्याटिन अमेरिकाका अपराधिक गिरोहहरूसँग “सशस्त्र सङ्घर्ष” मा रहेको र अमेरिकामा भित्रिने लागूऔषध रोक्न तथा अत्यधिक सेवनका कारण अकालमा ज्यान गुमाइरहेका अमेरिकी नागरिकको रक्षाका लागि यस्ता आक्रमणहरू आवश्यक रहेको दाबी गर्दै आएका छन्। तर, तस्करहरू मारिएको दाबीलाई पुष्टि गर्ने ठोस प्रमाणहरू भने उनको प्रशासनले निकै कम मात्र प्रस्तुत गरेको छ।

यस अभियानको पहिलो आक्रमण सन् २०२५ सेप्टेम्बर २ मा भएको थियो, जहाँ एउटै डुङ्गामाथि दुई पटक प्रहार गरिएको थियो, जसलाई “डबल ट्याप” वा फलो-अन स्ट्राइक भन्ने गरिन्छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सम्बद्ध स्रोतहरूले पहिले बताएअनुसार, दोस्रो प्रहारमा पहिलो आक्रमणबाट बाँचेका र माथितिर हात हल्लाएर मद्दत मागिरहेका दुई जनाको मृत्यु भएको थियो। अमेरिकी सेनाका अनुसार दुवै आक्रमणमा गरी कुल ११ जना मारिएका थिए। केही अमेरिकी सांसद तथा कानुनी विज्ञहरूले यी आक्रमणहरूको वैधानिकतामाथि प्रश्न उठाएका छन् र यस्ता “डबल-ट्याप” कारबाही युद्ध अपराध  अन्तर्गत पर्न सक्ने चेतावनी दिएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।