बाइडेनबाट समलिङ्गी विवाह विधेयकमा हस्ताक्षर
प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार
President Joe Biden reacts with House Speaker Nancy Pelosi of Calif., after he signs the Respect for Marriage Act, Tuesday, Dec. 13, 2022, on the South Lawn of the White House in Washington. At left is Senate Majority Leader Chuck Schumer of N.Y., and second from right is Rep. Jerrold Nadler, D-N.Y. (AP Photo/Andrew Harnik)
राष्ट्रपति जो बाइडेनले मंगलबार समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसबाट यस क्षणको महत्त्व झल्काउन आयोजित कार्यक्रममा हजारौं आमन्त्रित पाहुनाहरू अघि बाइडेनले विवाहको सम्मान ऐनमा हस्ताक्षर गरेका हुन् ।
अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो । नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो ।
प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो । ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका थिए । मतदान सकिएपछि चेम्बरमा ताली बजेको थियो ।

बिलले सबै राज्यहरूले समलिङ्गी विवाहलाई वैधानिक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता सेट नगरेपनि एउटा राज्यले अर्को राज्यको कानुनी समलिंगी विवाहलाई मान्यता दिन आवश्यक रहेको मापदण्ड तय गरेको छ ।
सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । फिलिबस्टर तोड्नका लागि रिपब्लिकनका १० भोट आवश्यक भएकाले बिलमा वार्ताका लागि महिनौं लागेको हो ।
सिनेटमा कुल १२ रिपब्लिकनले सबै डेमोक्र्याटहरूसँग बिलको समर्थनमा मतदान गरेका थिए ।
यो बिलमा संघीय सरकारले समलिङ्गी विवाह र अन्तरजातीय विवाहलाई मान्यता दिने कुरा सुनिश्चित गरिएको छ । यदि जोडीले समलिंगी विवाहलाई मान्यता नदिने राज्यमा बसाईसराई गरेपनि कुनै समस्या हुनेछैन । थप रूपमा बिलले सन् १९९६ मा पारित विवाहको रक्षा ऐनलाई खारेज गर्नेछ, जसले विवाहलाई एक पुरुष र एक महिला बीचको सम्बन्धको रूपमा परिभाषित गरेको थियो ।
यद्यपि अमेरिकामा सर्वोच्च अदालतले सन् २०१५ मा समलिङ्गी विवाहको अधिकारको ग्यारेन्टी गरेको छ । यो बिलले समलिङ्गी र अन्तरजातीय जोडीहरूलाई थप निश्चितता प्रदान गर्नेछ।






