काबुलमा रहेको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए, के चिनियाँ नागरिक निशानामा थिए ?


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटल नजिकै गोली हानाहान र विस्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार यस होटलमा अधिकांश चिनियाँ व्यवसायीहरू बस्छन्।

आक्रमण मध्य काबुलको शेहर-ए-नाउमा भएको थियो।

तालिबानका प्रवक्ता जबिउल्लाहले ट्विटमार्फत आक्रमण गर्ने तीनै चरमपन्थी मारिएको जानकारी दिएका छन् ।

जबिउल्लाहले ट्वीटमा लेखेका छन्, “काबुलको एउटा होटलमा हमला भएको छ। तीनैजना आक्रमणकारी मारिएका छन्। होटलका सबै पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। दुईजना विदेशी पाहुनाहरू मात्रै हाम फालेर घाइते भएका छन्।”

यसअघि तालिवान प्रशासनका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा हमला भएको पुष्टि गरे तर थप जानकारी दिन अस्वीकार गरे।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उक्त घटना एक गेस्ट हाउस नजिक भएको र उक्त गेस्ट हाउसमा चिनियाँ नागरिक बस्ने बताएको छ ।

सिन्ह्वाले काबुलस्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै चीनले सम्पूर्ण घटनालाई नजिकबाट नियालिरहेको र सहयोगका लागि आवश्यक कदम चालिरहेको बताएको छ।

इस्लामिक स्टेट लडाकुहरूले अगस्ट २०२१ मा तालिबान फिर्ता भएदेखि अफगानिस्तानमा चरमपन्थी आक्रमणहरू गरिरहेका छन्। यसअघि पनि देशभित्र विदेशी नागरिकमाथि आक्रमण भइसकेको छ ।

सामाजिक सञ्जालमा केही स्थानीय सञ्चारमाध्यमका भिडियो शेयर भइरहेका छन्, जसमा मानिसहरु भवनको झ्यालबाट हाम फालेर दौडिरहेको देख्न सकिन्छ ।

यस आक्रमणको लक्ष्य चिनियाँ नागरिक थिए वा कुनै विदेशी नागरिकलाई हानि पुर्‍याउने उद्देश्य थियो भन्ने अहिले नै स्पष्ट भएको छैन।

अर्कोतर्फ, एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी एएफपीलाई भने, “विस्फोट निकै शक्तिशाली थियो र त्यसपछि अन्धाधुन्ध गोली चलेको आवाज आएको थियो।”

यद्यपि स्थानीयहरूले रोयटर्सलाई विस्फोटपछि लगातार गोलीबारी भएको बताए।

स्थानीय बासिन्दाका अनुसार आक्रमण भएको भवनमा धेरैजसो चिनियाँ र विदेशी बस्ने गरेको छ ।

यसअघि समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै आक्रमणकारीहरू भवनभित्र पसेको बताएको थियो। त्यसबेलासम्म आक्रमणकारीको संख्याबारे कुनै जानकारी आएको थिएन।

अहिले तालिबान प्रशासनले तीनजना आक्रमणकारी रहेको र तीनै जनाको मृत्यु भएको बताएको छ ।

पछिल्ला केही महिनामा अफगानिस्तानका धेरै ठाउँमा गोली हानाहान र विस्फोटका घटना भएका छन् । इस्लामिक स्टेट चरमपन्थीहरूले यी धेरै आक्रमणहरूको जिम्मेवारी लिएका छन्।

अगस्ट २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि त्यहाँ तालिवानको शासन छ। तालिबानले लगातार आफ्नो देशमा बलियो सुरक्षा व्यवस्था पुनर्स्थापित गर्ने प्रयास गरिरहेको दाबी गर्दै आएको छ।

अफगानिस्तानसँग ७६ किलोमिटर सीमा जोडिएको चीनले अहिलेसम्म तालिबान सरकारलाई औपचारिक रूपमा मान्यता दिएको छैन, तर अफगानिस्तानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने थोरै देशहरूमध्ये एक हो।

तालिबानको शासनमा चीनले अफगानिस्तानमा अनुकूल वातावरण बनाउन धेरै प्रयास गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com