क्रिसमस अघि अमेरिकामा चर्को सुरक्षा खतरा: डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी


प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले क्रिसमस अगाडि अमृप।कामा चर्को सुरक्षा खतरा रहेको चेतावनी जारी गरेको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले राष्ट्रिय आतंकवाद सल्लाहकार प्रणाली बुलेटिन जारी गर्दै देशभरि ठूलो खतरा रहेको बताएका हुन् ।

अमेरिकाले उच्च जोखिमपूर्ण वातावरणको सामना गर्न जारी राखेको उनले बताएका छन् । लक्षित हिंसाका हालैका घटनाहरु र राजनीतिक वा सामाजिक लक्ष्य वा गुनासोमा कार्य गर्न खोज्ने हिंसात्मक चरमपन्थीहरूद्वारा संचालित घटनाहरुलाई हेर्दा जोखिम बढेको मेयरकासको भनाई छ ।

अमेरिकीहरूलाई सुरक्षित राख्नको लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सरकारी, निजी क्षेत्र र स्थानीय समुदायहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एक्लो आक्रमणकारी र साना समूहहरू मातृभूमिको लागि निरन्तर र घातक खतरा रहेको उल्लेख गर्दै उनीहरुविरुद्ध चेतावनी दिएको छ ।

ती समूहहरूले सार्वजनिक जमघट, विश्वासमा आधारित संस्थाहरू, यौनिक अल्पसंख्यक समुदाय, विद्यालय, जातीय र धार्मिक अल्पसंख्यकहरू, सरकारी कार्यालय र कर्मचारीहरू, अमेरिकी महत्वपूर्ण पूर्वाधार, मिडिया, र कथित वैचारिक विरोधीहरूलाई लक्षित गर्न सक्ने चेतावनी दिइएको छ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय आक्रमणकारीहरूबाट खतरा रहेको चेतावनी दिएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कसरी सुरक्षित रहने भन्ने बारे सुझावहरू समेत प्रदान गरेको छ । आकस्मिक परिस्थितिहरूको लागि तयार रहन, वरपरको अवस्थाबारे अलर्ट रहन, अनलाइनमा गलत वा भ्रामक जानकारीबाट बच्न सुझाव दिइएको छ ।

व्यवसाय, पूजा घर र विद्यालयहरूको सुरक्षाको लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको स्रोतहरूको समीक्षा गर्न, सक्रिय गोलीकाण्ड हुनसक्ने परिस्थितिहरू र बमका धम्कीहरूको लागि तयारी गर्न र सामुदायिक स्रोतहरूको बारेमा आफैलाई शिक्षित गर्न सुझाव दिइएको छ । त्यस्तै संदिग्ध गतिविधि रिपोर्ट गर्न तथा संदिग्ध व्यवहारबारे जानकारी राख्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com