कङ्गोमा ‘नरसंहार’मा सय भन्दा बढीको मृत्यु


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ ।

गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो ।

एम २३ ले जवाफी हमला गर्दै आरोपहरू ‘आधारहीन’ भएको र आफ्नो आक्रमण नागरिकहरूप्रति लक्षित गरेको कुरालाई अस्वीकार गरेको छ ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा डीआरसीका अध्यक्ष फेलिक्स शिसेकेदीले किशिशेमा १०० भन्दा बढी नागरिकको नरसंहार भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

शिसेकेदीले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई निर्देशन दिएको र देशभर झण्डा आधा झुकाइने उहाँले जानकारी दिनुभयो ।

मुयायाले भन्नुभयो, “शोकको अवधि सोमबार टेलिभिजनमा पीडितहरूको सहयोगका लागि आयोजित चन्दा सङ्कलन कार्यक्रमबाट अन्त्य हुनेछ ।

उक्त नरसंहारको खबर सार्वजनिक भएदेखि नै स्वतन्त्र छानबिनको माग उठ्न थालेको छ ।

राष्ट्रपतिले न्यायमन्त्रीलाई अविलम्ब आन्तरिक अनुसन्धान सुरु गर्न र यस युद्ध अपराधबारे प्रकाश पार्न अन्तर्राष्ट्रिय अनुसन्धानका लागि काम गर्न आग्रह गरेको मुयायाले बताउनुभयो ।

वर्षौंदेखि सुषुप्त अवस्थामा रहँदै आएको एम २३ कङ्गोली तुत्सी विद्रोही समूह हो ।

उसले गत वर्ष नोभेम्बरमा फेरि हतियार उठाएको थियो र जुनमा युगान्डासँगको सीमामा रहेको बुनागाना शहर कब्जा गरेको थियो ।

उक्त समूह केही समयको शान्तिपछि अक्टोबरमा फेरि आक्रमणमा उत्रियो र आफ्नो नियन्त्रणमा रहेको क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्दै गोमातर्फ अघि बढेको छ ।

किन्सासाले आफ्नो सानो छिमेकी रुवान्डाले एम २३ लाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । यो संयुक्त राष्ट्रसङ्घका विज्ञ र अमेरिकी अधिकारीहरूले पनि हालैका महिनाहरूमा औंल्याएका छन् । किगालीले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com