विश्वकपमा खेल्ने आफ्नै खेलाडीका परिवारलाई जेल र यातना दिने इरानको धम्की


प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार

इरानले मंगलबार हुने अमेरिकासँगको खेल अघि खेलाडीहरूले सही व्यवहार नगरे विश्वकप फुटबल टोलीका परिवारलाई जेल र यातना दिने धम्की दिएको छ । नोभेम्बर २१ मा इङ्गल्याण्डसँगको उद्घाटन खेलमा इरानी खेलाडीहरूले इरानको राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए ।

त्यसपछि खेलाडीहरूलाई इरानको सैन्य निकाय इरानी रिभोलुसनरी गार्ड कोर्प्सका सदस्यहरूसँग बैठकमा बोलाइएको थियो । उक्त बैठकमा यदि उनीहरूले राष्ट्रिय गान नगाएमा वा तेहरान शासनको विरुद्धमा कुनै राजनीतिक विरोधमा सामेल भएमा उनीहरूको परिवारले हिंसा र यातना सामना गर्ने चेतावनी खेलाडीहरुलाई दिइएको थियो ।

गत शुक्रबार वेल्स विरुद्धको दोस्रो खेल अघि इरानका खेलाडीहरूले राष्ट्रिय गान गाएका थिए, जसमा इरानले २-० को जित हासिल गरेको थियो। इरानी रिभोलुसनरी गार्ड कोर्प्सका दर्जनौं अधिकारीहरू इरानी खेलाडीहरूलाई निगरानी गर्न खटाइएको छ । इरानका खेलाडीहरुलाई टोली बाहिर घुलमिल हुन वा विदेशीहरूसँग भेट्न अनुमति छैन।

कतारमा ठूलो संख्यामा इरानी सुरक्षा अधिकारीहरू सूचना सङ्कलन र खेलाडीहरूको निगरानी गरिरहेका छन् । इरानको राष्ट्रिय टोलीका पोर्चुगिज प्रशिक्षक कार्लोस क्विरोजले इरानी खेलाडी र उनीहरूका परिवारलाई धम्की दिएपछि इरानी रिभोलुसनरी गार्ड कोर्प्स अधिकारीहरूसँग छुट्टै भेट गरेका थिए ।

क्विरोजले इरानी खेलाडीहरूले फिफा नियमहरू भित्र रहेर विश्वकपमा विरोध गर्न सक्ने बताएका छन् । इरानका खेलाडीहरूलाई इङ्गल्याण्डको खेल अघि उपहार र कार दिने वाचा गरिएको थियो तर टोलीले इरानको राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि उपहार होइन, खेलाडीहरू र तिनीहरूका परिवारहरूलाई धम्की दिइएको छ ।

समूह बी को महत्वपूर्ण खेलमा मंगलबार इरान र अमेरिका भिड्दैछन् । इरान यस विश्वकपमा घरेलु उथलपुथलको छायाँमा देखिएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले अधिकारीहरूले शासन विरोधी असन्तुष्टहरूलाई दबाब दिँदा देश पूर्ण मानव अधिकार सङ्कटमा रहेको बताएका छन्।

आइतवार इरानको राज्य समर्थित मिडियाले अमेरिकालाई २०२२ को विश्वकपबाट बाहिर निकाल्न आह्वान गरेका थिए । अमेरिकाको सकर फेडेरेशनले इरानमा प्रदर्शनकारीहरूलाई समर्थन देखाउन आफ्नो सोशल मिडिया प्लेटफर्महरूमा इरानको झण्डा परिवर्तन गरेपछि इरानी संचारमाध्यमबाट अमेरिकालाई विश्वकपबाट हटाउन माग गरिएको हो ।

फेडेरेशनले अस्थायी रूपमा आफ्नो आधिकारिक ट्विटर, इन्स्टाग्राम र फेसबुक खाताहरूमा इस्लामिक गणतन्त्रको प्रतीक बिना इरानको राष्ट्रिय झण्डा हालेको थियो। शनिबार पोस्ट गरिएको समूह बी स्ट्यान्डिङको अहिले मेटाइएको ग्राफिकमा इरानी झण्डाको हरियो, सेतो र रातो रंगहरू देखाइएको थियो। आधारभूत मानव अधिकारको लागि लडिरहेका इरानका महिलाहरूको समर्थनमा फेडेरेशनले यसो गरेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com