न्युयोर्कको ग्यास स्टेशनमा १५ बर्षदेखि काम गर्दै आएका ५९ बर्षीय पाकिस्तानीमाथि गोली प्रहार


प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार

न्युयोर्कको ब्रोंक्समा ग्यास स्टेशनमा काम गर्ने ५९ बर्षीय पाकिस्तानी मूलका कामदारमाथि गोली प्रहार भएको छ । टाउकोमा गोली हानेपछि गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ भने बन्दुकधारी अझै फरार रहेको जनाइएको छ ।

मंगलबार साँझ ८ बजेपछि बोस्टन रोडको एलर्टन ग्यास स्टेशनमामा गोली हानिएको थियो । उनले कामको सिफ्ट सुरु गर्नेबित्तिकै एक व्यक्ति बन्दुक लिएर भित्र छिरेको थियो । र तत्काल गोली चलाउन थालेको थियो ।

घाइते व्यक्ति मिलनसार रहेको र उनले आफ्नी श्रीमती तथा छ जना छोराछोरीलाई पाकिस्तानमा पैसा पठाउने गरेको जनाइएको छ । प्रहरी अधिकारीहरूले घटनास्थलबाट भागेका बन्दुकधारीलाई पक्रन उक्त क्षेत्रको सुरक्षा क्यामेरामा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।

कामदारको टाउकोमा गोली हानेको भिडियो सीसीटिभीमा समेत कैद भएको छ । भिडियोमा संदिग्ध व्यक्तिले बन्दुक निकालेर दुई पटक टाउकोमा गोली हानेको देखिएको छ ।

त्यसपछि बन्दुकधारी घटनास्थलबाट अज्ञात दिशातिर भागेको थियो । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनले १५ वर्ष भन्दा बढी समयदेखि उक्त ग्यास स्टेशनमा काम गर्दै आएको र कसैसँग विगतमा झगडा नभएको जनाइएको छ ।

संदिग्ध व्यक्तिलाई अन्तिम पटक कालो हुड भएको स्वेटसर्ट र कालो जुत्ता लगाएको रूपमा वर्णन गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com