Follow @khasokhasmag

यौन अपराधमा पटकपटक जेल र २५ वर्षको प्रतिक्षापछि अनवर इब्राहिम बने मलेसियाका प्रधानमन्त्री


प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार

दशकौंको प्रतिक्षापछि अन्ततः मलेसियाका राजनीतिज्ञ अनवर इब्राहिमले देशको प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । अनवर इब्राहिमको प्रधानमन्त्री पदमा नियुक्ति उनको दशकौं लामो यात्रा र प्रतिक्षाको परिणाम हो।

यो यात्रामा उनले यो अवसर एकपटक नभई दुईपटक गुमाएका थिए । उनलाई पूर्वप्रधानमन्त्री तथा शक्तिशाली राजनीतिज्ञ महाथिर मोहम्मदको पालामा वर्षौंसम्म जेलमा राखिएको थियो ।

देशका यी दुई दिग्गज राजनीतिज्ञहरू बीचको उतारचढाव सम्बन्धले उनीहरूको कथा मात्र होइन मलेसियाको राजनीति र यसमा अनवर इब्राहिमको कद पनि बताउँछ।

अन्वर इब्राहिम अहिले ७५ वर्षका भइसकेका छन् । मलेसियाको इस्लामिक युथ मुभमेन्ट ‘एबीआईएम’ सुरु गरेका इब्राहिमले युवावस्थामा नै क्यारिज्म्याटिक र बलियो विद्यार्थी नेताका रूपमा आफ्नो पहिचान बनाएका थिए ।

सन् १९८२ मा उनले देशमा लामो समय शासन गर्ने राजनीतिक दल युनाइटेड मलेस नेशनल अर्गनाइजेसनमा सामेल भएर धेरैलाई चकित पारे। तर समयले युनाइटेड मलेस नेशनल अर्गनाइजेसनमा सामेल हुनु एक राम्रो सोच र राम्रो राजनीतिक निर्णय भएको प्रमाणित गर्यो।

उनले राजनीतिक सफलताका सिँढीहरू द्रुत गतिमा चढेर सरकारका धेरै महत्त्वपूर्ण विभागको जिम्मेवारी सम्हाल्न थाले । सन् १९९३ मा उनी महाथिर मोहम्मदको डेपुटी बने र त्यतिबेला उनलाई उनको उत्तराधिकारीको रुपमा हेरिएको थियो ।

तर १९९७ मा मलेसिया एसियाली वित्तीय संकटको चपेटामा परेको थियो र अर्थतन्त्र र भ्रष्टाचारलाई लिएर दुई नेताहरू बीच मतभेद देखा पर्‍यो। सेप्टेम्बर १९९८ मा अनवर इब्राहिमलाई पदबाट बर्खास्त गरियो, त्यसपछि उनले महाथिर मोहम्मद विरुद्ध प्रदर्शनको नेतृत्व गरे।

यहीँबाट ‘सुधार’ आन्दोलन सुरु भयो । यो सुधार आन्दोलनले मलेशियन प्रजातन्त्र समर्थकहरूको सम्पूर्ण पुस्तालाई प्रभाव पारेको थियो। अनवर इब्राहिम पक्राउ परे । उनीमाथि भ्रष्टाचार र समलैंगिक यौनसम्बन्धको आरोप लागेको थियो ।

यस मुद्दाको सुनुवाई विवादास्पद थियो जसमा इब्राहिमले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए। मुस्लिम बाहुल्य मलेसियामा समलैंगिकता अपराध हो। यद्यपि, मलेसियामा समलैंगिकताको लागि कसैलाई दोषी ठहराउने घटनाहरू विरलै छन्।

अनवर इब्राहिमको मुद्दाको अन्तर्राष्ट्रिय आलोचना भयो र यो कारबाही राजनीतिक प्रतिशोधबाट प्रेरित भएको भनिएको थियो।

भ्रष्टाचारको आरोपमा उनलाई ६ वर्षको जेल सजाय सुनाइएपछि सडकमा हिंसात्मक प्रदर्शन भएको थियो । त्यसको एक वर्षपछि, उनलाई समलैंगिक यौनसम्बन्धको अपराधमा नौ वर्षको जेल सजाय सुनाइयो।

यो आरोपमा अनवर इब्राहिमले आफूलाई महाथिर मोहम्मदका लागि राजनीतिक खतरा बन्नबाट जोगाउन यो आफूलाई बदनाम गर्ने षड्यन्त्र भएको बताए । सन् २००३ मा महाथिर मोहम्मदले देशको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

एक वर्ष पछि सन् २००४ को अन्त्यमा मलेसियाको सर्वोच्च अदालतले अन्वर इब्राहिम विरुद्धको यौन सम्बन्धको फैसलालाई उल्ट्यायो र उनी जेलबाट रिहा भए।

रिहा भएपछि बलियो प्रतिपक्ष बनेर उभिए । सन् २००८ को चुनावमा पनि प्रतिपक्षले राम्रो प्रदर्शन गरेको थियो ।

तर सोही वर्ष इब्राहिम विरुद्ध यौन दुराचारको आरोप फेरि उठ्यो। यसबारे इब्राहिमले सरकारले आफूलाई राजनीतिक रूपमा किनारा लगाउने अर्को प्रयास गरेको बताएका थिए ।

जनवरी २०१२ मा उच्च अदालतले अन्तत प्रमाणको अभावको कारण इब्राहिमलाई सफाइ दियो।

अर्को वर्ष उनले प्रतिपक्षको नेतृत्व गरे र चुनावमा यसलाई नयाँ उचाइमा पुर्याए। यो ऐतिहासिक रूपमा सत्तारुढ बारिसन राष्ट्रिय गठबन्धनको लागि सबैभन्दा खराब प्रदर्शन थियो।

तर इब्राहिमको महत्वाकांक्षालाई एक पटक फेरि धक्का लाग्यो। सन् २०१४ मा उनी चुनाव लड्ने तयारी गर्दै गर्दा उनको सफाइ उल्टियो र उनलाई जेल पठाइयो।

सन् २०१६ मा उनका पूर्व प्रतिद्वन्द्वी महाथिर मोहम्मदले फेरि प्रधानमन्त्री पदको दौडमा प्रवेश गर्ने घोषणा गरेपछि राजनीतिक घटनाक्रममा नाटकीय परिवर्तन आयो ।

त्यतिबेला महाथिर मोहम्मद ९२ वर्षका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री नजिब रज्जाकको भ्रष्टाचारबाट दिक्क भएर चुनावी मैदानमा उत्रने घोषणा गरेको उनले बताए । त्यतीबेला महाथिर मोहम्मदले जेलमा रहेका अनवर इब्राहिमसँग हात मिलाएर राजनीतिक सर्कलमा धेरैलाई चकित पारे।

महाथिरको निर्णयको कारण विपक्षी कार्यकर्ताहरूमा इब्राहिमको लोकप्रियता कायम राख्नु थियो। महाथिर मोहम्मद र अनवर इब्राहिमले एकअर्कासँग हात मिलाउने सोचमा यो राजनीतिक गठबन्धन त्यतिबेला लगभग असम्भव थियो ।

सन् २०१८ को चुनावमा महाथिर मोहम्मदको नेतृत्वमा रहेको पाकटन हरपान गठबन्धनले ऐतिहासिक जित हासिल गर्‍यो र योसँगै ६१ वर्षदेखि सत्तामा रहेको बारिसन राष्ट्रिय गठबन्धनको युगको अन्त्य भयो।

गठबन्धनमा चार दलहरू थिए र धेरै जातीय समूहहरू समावेश गर्ने विविध गठबन्धन भनिएको थियो। यो गठबन्धनलाई मलय मुस्लिम, देशका चिनियाँ जनता र भारतीय मूलका मानिसहरूको समर्थन पनि प्राप्त भयो।

मलेसियाका प्रधानमन्त्रीका रूपमा महाथिर मोहम्मदले आफ्नो वाचा पूरा गर्दै अन्वर इब्राहिमलाई जेलबाट रिहा गरे। उनलाई सरकारले माफी दिएको थियो ।

कोरोना महामारी अगाडि महाथिर मोहम्मदले दुई वर्षभित्र इब्राहिमलाई सत्ता हस्तान्तरण गर्ने संकेत गरेका थिए । तर त्यसो भएन र उनीहरूले इब्राहिमलाई सत्ता हस्तान्तरण गर्ने आफ्नो समयसीमा परिवर्तन गरिरहे।

सत्ता हस्तान्तरण र मलाय राष्ट्रवादको उदयसँगै दुई नेताबीचको वैमनस्य फेरि चर्कियो ।

फेब्रुअरी २०२० मा महाथिर मोहम्मदले अप्रत्याशित रूपमा राजीनामा दिए र उनको राजीनामासँगै पाकटन हारापान गठबन्धन फुट्यो।

मलेसिया राजनीतिक अस्थिरताको अवधिमा प्रवेश गरेसँगै इब्राहिम सत्ताको नजिक आएपछि पनि फेरि प्रधानमन्त्री बन्नबाट बञ्चित भए ।
नयाँ सरकारको पतन पछि युनाइटेड मलाय नेशनल अर्गनाइजेसन फेरि सत्तामा आयो र मुहिद्दीन यासिनलाई देशको नयाँ प्रधानमन्त्री बनाइयो।

तर जब कोरोना महामारी चरममा थियो, यासिनले संसदको विश्वास गुमाए र राजीनामा दिनुपर्‍यो।

अक्टोबर २०२२ मा यासिनको उत्तराधिकारी र युनाइटेड मलाय नेशनल अर्गनाइजेसनका नेता इस्माइल साबरी याकुबले मध्यावधि चुनावको घोषणा गरे।

अनवर इब्राहिमको पाकाटन हारापान गठबन्धनले बहुमत सिट जित्यो, यद्यपि सरकार गठनका लागि आवश्यक सिटभन्दा कम थियो । केही दिनको अनिश्चिततापछि मलेसियाका राजाले अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त गर्ने घोषणा गरे र योसँगै उनको २५ वर्षको प्रतिक्षाको अन्त्य भयो ।

तर इब्राहिमको अगाडिको बाटो चुनौतीहरूले भरिएको छ। उनीहरुले एक कार्ययोग्य गठबन्धन बनाउन आवश्यक हुनेछ जसमा मलेसियाको विविध समाजको सहभागिता समावेश हुनेछ ।

 

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com