भर्जिनियामा ६ कर्मचारीको हत्या गर्ने व्यक्ति १२ बर्षदेखि वालमार्टमा कार्यरत ३१ बर्षीय आन्द्रे


प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

मङ्गलबार राति भर्जिनियाको चेसपेकमा रहेको वालमार्टमा गोली चलाउने बन्दुकधारी स्टोरमा १२ बर्षदेखि काम गर्दै आएका म्यानेजर ३१ बर्षीय आन्द्रे बिङ रहेको जनाइएको छ । बिंगले २०१० देखि कम्पनीको लागि काम गरेको र रातीको टोलीको नेतृत्वको रूपमा काम गरेको वालमार्टले जनाएको छ ।

वालमार्ट स्टोरका म्यानजेरले विश्राम कक्षमा अन्य कर्मचारीहरूमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो । मारिनेहरु लोरेन्जो ग्याम्बल, ब्रायन पेंडलटन, केली पायल, रान्डेल ब्लैभिन्स, र टाइनेका जनसन रहेका छन् । एक १६ बर्षीय पनि मारिएका छन् तर नाबालिग भएका कारण उनको नाम गोप्य राखिएको छ ।

अमेरिकामा चारदिनको अन्तरालमा भएको यो उच्च प्रकारको सामूहिक गोलीबारीको दोश्रो घटना हो ।

कर्मचारीहरुको हत्या गरेपछि आन्द्रेले आफैमाथि गोली चलाएको जनाइएको छ । प्रहरीले आन्द्रेलाई पनि मृत अवस्थामा फेला पारेको थियो । गोली चलाउनुको कारण स्पष्ट भएको छैन । घाइते ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

मङ्गलबार राति हमला हुनुभन्दा ठीक अघि पसल व्यस्त रहेको थियो । किनभने ग्राहकहरु थ्याङ्क्सगिभिङ बिदाको अघि किनमेलका लागि आएका थिए । कर्मचारीहरु आफ्नो शिफ्ट सुरु हुनुभन्दा अगाडि विश्राम कक्षमा भेला भएका थिए ।

म्यानेजरले ढोका खोल्नेबित्तिकै फायर सुरु गरेको जनाइएको छ । बन्दुकधारीले एक शब्द पनि नबोलेको प्रत्यक्षदर्शीले बताएका छन् । म्यानेजरले पिस्तोल प्रयोग गरेर गोली चलाएको जनाइएको छ । प्रहरीले मृतक सबै कर्मचारी भएको पुष्टि भएको छ ।

कर्मचारी जेसी विल्जेस्की टेबलमुनि लुकेकी थिइन् । उनलाई बन्दुकधारीले देखेपछि बन्दुकको इशाराले घर जान भनेको र आफू बाहिर निस्केको उनले बताइन् ।

सन् २०२२ मा हालसम्म अमेरिकामा ४० सामूहिक गोलीकाण्डका घटना भएका छन् । जुन २०१९ मा ४५ थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com