इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२, घाइतेहरु ७ सय बढी


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

पश्चिमी जाभाका गभर्नर रिदवान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।

भूकम्प घनाबस्ती भएको क्षेत्रमा भएको हुनाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ । भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको थियो ।

ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा ठाउँको अभाव महसुस भईरहेको छ भने धेरै मानिसहरु बाहिर उपचार गराइरहेका छन् ।

भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले राति पनि उद्धार कार्य जारी रहेको थियो ।

भूकम्प गएको क्षेत्र पहिरो प्रभावित क्षेत्र भएकाले घरको गुणस्तर कमजोर रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पको धक्काले यी घरहरू भग्नावशेषमा परिणत भएका छन् ।

भूकम्पबाट प्रभावित केही क्षेत्र पहिरोका कारण सम्पर्कविच्छेद भएको र ठूलो संख्यामा मानिसहरु भग्नावशेषमा पुरिएको हुन सक्ने बताइएको छ ।

यसअघि सियानजुर सहर प्रशासनका प्रमुख हर्मन सुहरमानले भवनको भग्नावशेषबाट उद्धार गरिएका अधिकांश घाइतेको हातखुट्टा भाँचिएको बताएका थिए।

गाउँबाट अस्पतालमा एम्बुलेन्सहरू निरन्तर आइरहेका छन्। गाउँमा अझै धेरै परिवारहरू फसेका छन्।

राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले सियानजुर सहरका दर्जनौं भवनहरू ध्वस्त भएको बताएको छ। यसमा अस्पताल र मदरसा होस्टल पनि समावेश छ।

सियानजुर सहरबाट १०० किलोमिटर टाढा रहेको जकार्ता सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । सावधानीका रूपमा जकार्ताका अग्लो भवनहरूबाट मानिसहरूलाई बाहिर निकालिएको थियो।

 

स्थानीय समय अनुसार दिउँसो १ः२१ बजे भूकम्प गएको प्रकोप उद्धार एजेन्सीले जनाएको छ । त्यतिबेला कार्यालयमा काम गर्ने मानिसहरु बाहिर निस्केका थिए ।

इन्डोनेसियामा भूकम्प आउनु सामान्य घटनाको रुपमा लिइन्छ । प्रशान्त क्षेत्रको भौगोलिक गतिविधिको हिसाबले यो देश रिङ अफ फायर भन्दा माथि छ।

सन् २०१८ मा इन्डोनेसियामा भूकम्प र सुनामीका कारण दुई हजारभन्दा बढीको ज्यान गएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com