अमेरिकी सिनेटमा कस्को नियन्त्रण कायम हुने भन्ने निर्धारण अब यी ४ राज्यको नतिजाबाट


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

capitol hill white dome building near body of water during daytime

अमेरिकी सिनेटमा रिपब्लिकन वा डेमाक्र्याटसमध्ये कस्को नियन्त्रण कायम हुने भन्ने निर्धारण अब ४ राज्यको नतिजाबाट हुने भएको छ । सबैको ध्यान अहिले एरिजोना, जर्जिया, नेभाडा र विसकन्सिनतिर रहेको छ । जसमध्ये एरिजोना र जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदबारको अग्रता रहेको छ भने नेभाडा र विसकन्सिनमा रिपब्लिकन पार्टीका उम्मेदबारको अग्रता रहेको छ ।

डेमोक्र्याट जोन फेटरम्यानले बुधवार बिहान पेन्सल्भेनियाको पुरानो नतिजालाई उल्टाएर आफ्नो पार्टीलाई ४८ सिट दिलाएका छन् । यसको मतलब डेमोक्र्याटहरूले चार बाँकी युद्ध मैदानहरू मध्ये दुई जितेर सिनेटमा नियन्त्रण कायम राख्न सक्छन् । एरिजोना र नेभाडामा मतहरूको महत्त्वपूर्ण संख्या अझै गणना हुन बाँकी छ।

नेभाडाका रिपब्लिकन उम्मेदबार एडम लाक्साल्ट समर्थकहरुसँग बोलेपछि श्रीमतीलाई चुम्बन गर्दै ।

नेभाडामा डेमोक्र्याटिक सिनेटर क्याथरिन कोर्टेज मास्टो रिपब्लिकन एडम लाक्साल्टसँग भिड्दै छन्। अनुमानित मतको ७० प्रतिशतभन्दा बढी मतका साथ लक्साल्ट अगाडि छन्। राज्यको दुई सबैभन्दा बढी जनसंख्या भएका काउन्टीहरू क्लार्क काउन्टी र वाशो काउन्टीमा हुलाकबाट प्राप्त मतपत्रहरु चाँडोमा आजबाट गणना गरिनेछ ।

त्यस्तै निर्वाचनको दिनमा अमेरिकाको हुलाक सेवाबाट पोष्टमार्क भएका र नोभेम्बर १२ सम्ममा निर्वाचन अधिकारीहरूलाई पठाइएका मतपत्रहरूलाई पनि गणना गरिनेछ। यी दुई काउन्टीले राज्यको जनसंख्याको झन्डै ९० प्रतिशत ओगटेका छन् ।

एरिजोनामा मार्क केलीका समर्थकहरु ।

एरिजोनामा पनि अझै पनि धेरै मत गन्न बाँकी छ। डेमोक्र्याटिक सिनेटर मार्क केली र रिपब्लिकन उम्मेदबार ब्लेक मास्टर्सबीचको प्रतिस्पर्धा कडा रहेको छ । बुधबार बिहानसम्म राज्यमा करिब ६० प्रतिशत मतगणना भइसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपा काउन्टीमा चुनावको दिन हुलाकबाट पठाइएका मतपत्रहरु चाँडोमा बुधवारबाट गणना गरिनेछ ।

जर्जियामा  रिपब्लिकन उम्मेदबार हर्शेल वाकर

जर्जियामा डेमोक्र्याटिक सिनेटर राफेल वार्नोकले रिपब्लिकन उम्मेदबार हर्शेल वाकरभन्दा झिनो मतले अगाडि छन् । दुबैले ५० प्रतिशतभन्दा कम मत ल्याएकाले डिसेम्बर ६ मा दुई उम्मेदबारबीच रनअफ चुनाव हुनसक्ने सम्भावना छ । अपेक्षित मतको ९८ प्रतिशत गणना भइसकेको छ ।

यदि दुई पार्टीहरूले एरिजोना र नेभाडामा एकएक सिट जित्नुका साथै जर्जिया रनअफमा गएमा सिनेटको नियन्त्रण जर्जियाले निर्धारण गर्ने अवस्था आउनसक्छ ।

विसकन्सिनमा मतदानका क्रममा एक मतदाता । फोटो : एएफपी

विसकन्सिनमा पनि लगभग सबै मत गणना भइसकेको छ । रिपब्किन सिनेटर रोन जोन्सनले डेमोक्रेटिक उम्मेदबार मन्डेला बार्नेसभन्दा थोरै अग्रता लिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com