क्यालिफोर्नियाका व्यक्तिले जिते २ बिलियन डलरको पावरबल, आईआरएसलाई साढे ३ सय मिलियन


प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार

झण्डै २ बिलियन डलरको पावरबल ज्याकपट लोटरी क्यालिफोर्नियाका व्यक्तिले जितेका छन् । अत्याधिक टिकट खरिदपछि १ दशमलव ९ बिलियनको पावरबल २ दशमलव १ बिलियन डलर पुगेको थियो । उक्त ज्याकपट एकजनालाईमात्र परेको छ । उनले एकमुष्ठ नगद लिन चाहेमा ९९७ मिलियन डलर प्राप्त गर्नेछन् ।

विजेता नम्बरहरुमा १०, ३३, ४१, ४७ र ५६ रहेका छन् भने पावरबल नम्बर पनि १० नै रहेको छ । आवश्यक सुरक्षा प्रोटोकलहरू पूरा गर्न थप समय चाहिने भन्दै सोमबार लोटरी खोल्नमा ढिलाइ भएको थियो। मंगलबार विहानमात्र नम्बरहरु सार्वजनिक गरिएको थियो ।

यो पावरबल ज्याकपट विश्वकै अहिलेसम्मको ठूलो राशीको लोटरी हो । अर्थात् यति धेरै राशीको लोटरी पुगेको अहिलेसम्मकै इतिहासमा विश्वमा पहिलो हो । सोमबारको लोटरीमा फ्लोरिडाका एकजनाले २ मिलियन डलर जितेका छन् । त्यस्तै २२ जनाले एकएक मिलियन डलर जितेका छन् ।

पावरबल लोटरी विजेताहरूले एकमुष्ठ पुरस्कार प्राप्त गर्ने वा २९ बर्षमा ३० पटकगरी पुरस्कार प्राप्त गर्ने योजनाबीच छनौट गर्न सक्छन् । एकमुष्ठ भुक्तानी चर्चा गरिएभन्दा कम हुन्छ तर अधिकांशले एकमुष्ठ भुक्तानीकै विकल्प रोज्छन् ।

जितेको रकममा २४ प्रतिशत अनिवार्य संघीय ट्याक्स विथहोल्ड हुन्छ भने एकल करदाताले शीर्ष संघीय सीमान्त दर ३७ प्रतिशतसम्म हुन्छ । त्यसपछि राज्य र सिटीका करहरु पनि तिर्नुपर्छ । उक्त करको दर विजेता कहाँ बस्छन् र उनीहरूले जित्ने टिकट कहाँ किनेका थिए भन्ने आधारमा निर्धारण हुन्छ । न्युयोर्कमा ८ दशमलव ८२ प्रतिशत राज्यलाई र ३ दशमलव ८७६ प्रतिशत सिटीलाई बुझाउनुपर्छ ।

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com