अमेरिकामा पेपल प्रयोग गरेर ठग्ने ठगहरुको नयाँ काइदा, नेपालीहरु पनि निशानामा


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

अमेरिकामा पेपलमा नक्कली इन्भोइस पठाएर ठगहरुले पेपल प्रयोगकर्ताहरुलाई निशाना बनाएका छन् । बिटक्वाइन किनेको विवरणसहितको इन्भोइस पठाएर ठगहरुले पेपल प्रयोगकर्ताहरुलाई निशाना बनाएका हुन् ।

उक्त इन्भोइस पेपलकै प्रणालीमा गएर निर्माण गरिने भएकाले पेपलकै आधिकारिक इमेलबाट उक्त इन्भोइसबारे जानकारी आउँछ । तर तपाईले उक्त भ्यु योर इस्टीमेटमा क्लीक गरेर इन्भोइस एसेप्ट गर्नुभएको खण्डमा तपाईको पेपल एकाउन्टबाट ठगहरुले रकम प्राप्त गर्न सक्नेछन् । त्यसैले इन्भोइस सेक्सनमा गएर एसेप्ट द इन्भोइसमा क्लीक नगर्नुहोला ।

इन्भोइसमा ठगहरुले बिक्रेताका तर्फबाट एउटा नोट पनि जारी गरेका छन्, जुन पेपल प्रयोगकर्तालाई झुक्याउने खालको रहेको छ । उक्त नोटमा एउटा नम्बर दिदै यदि तपाईले सामान किन्नुभएको थिएन भने रद्द वा रिफण्डका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ । तर याद गर्नुहोस् त्यहाँ दिइएको नम्बर पेपलको आधिकारिक नम्बर नभई ठगहरुको नम्बर हो ।

ठगले खसोखासलाई पठाएको इन्भोइस । इन्भोइसको अन्त्यमा पेपलका तर्फबाट जस्तो देखिने नोट पनि ठगले नै तयार पारेका हुन् भने त्यहाँ उल्लेख गरिएको अष्ट्रेलियाको नम्बर पनि ठगकै नम्बर हो ।

यदि सम्पर्क नगरेको खण्डमा इन्भोइसमा उल्लेखित रकम चार्ज गरिने र उक्त रकम २४ देखि ४८ घण्टाभित्र तपाईको पेपल एकाउन्टबाट ट्रान्सफर हुने चेतावनी समेत ठगहरुले दिएका छन् । सावधान, ठगहरुले त्यहाँ दिएको अमेरिकाकै वा अन्य कुनै विदेशी नम्बरमा तपाईले फोन नगर्नुहोला । यदि त्यसो गर्नुभएको खण्डमा उनीहरुले तपाईबाट थप व्यक्तिगत जानकारी लिएर तपाईको पेपल एकाउन्ट ह्याक गर्ने प्रयत्न गर्नेछन् ।

तपाईले ठगबाट यस्तो इमेल प्राप्त गर्नुहुनेछ, जसमा क्लीक नगर्नुहोला । वा त्यहाँ दिइएको नम्बरमा फोन सम्पर्क नगर्नुहोला ।

त्यसैले तपाईले पेपलमा कुरा गर्नका लागि आधिकारिक फोन नम्बर ८८८ २२१ ११६१ मा सम्पर्क गर्नुहोला । पेपलले आजमात्र त्यस्ता नक्कली इन्भोइसबारे कैयन फोनकलहरु आएको र त्यसमा क्लीक नगर्न चेतावनी दिएको छ । पेपलले त्यस्ता नक्कली इन्भोइस हटाउन तीब्र गतिमा काम गरिरहेको र पेपल प्रयोगकर्ताले इन्भोइस डिलिट गर्न नसकेपनि उक्त इन्भोइस एक महिनामा आफै हट्ने जानकारी दिएको छ ।

इन्भोइस स्वीकार नगरेसम्म पेपल प्रयोगकर्ताबाट कुनै रकम चार्ज नगरिने पनि पेपलले जनाएको छ । खसोखासले पनि यस्तै प्रकारको नक्कली इन्भोइस प्राप्त गरेको थियो । जसमा १४९९ डलरको बिटक्वाइनका लागि भुक्तानी माग गरिएको छ । थेल्मा मोरेका नामबाट उक्त इन्भोइस टेक्सासको ठेगानाबाट आएपनि त्यहाँ दिइएको सम्पर्क नम्बर भने अष्ट्रेलियाको रहेको छ ।

यदि तपाइले कुनै बिक्रेताबाट केहि खरिद गरिरहनु भएको छैन भने सुरक्षित रूपमा इस्टीमेट इन्भोइस बेवास्ता गर्न सक्ने पेपलले जनाएको छ । साथै पेपलले तपाईंलाई कल गर्न वा टेक्स्ट म्यासेज पठाउन भन्दै इन्भोइसमा कुनै नम्बर नपठाउने समेत स्पष्ट पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com