युक्रेनमा आणविक हतियार प्रयोग गर्ने मनसायलाई पुटिनद्वारा अस्वीकार


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेका छन् । उनले युक्रेन द्वन्द्वलाई आफ्नो विश्वव्यापी प्रभुत्व सुरक्षित गर्न पश्चिमाहरूको कथित प्रयासको एक हिस्साको रूपमा वर्णन गरे। साथै, उनले विश्व प्रभुत्वको लागि पश्चिमाहरूको प्रयास असफल हुने दाबी गरे।

तर, युरोपेली देशहरूले पुटिनको यो दाबीलाई विश्वास गरेका छैनन् । केही दिनअघि मात्र आणविक हमला गर्न सक्ने रुसी बमवर्षक विमानहरू नेटो देशको सिमाना नजिकै देखिएका थिए। यस बाहेक रुसको आणविक रेल युक्रेनको सीमातर्फ गइरहेको देखिएको छ । रुसले पनि आफ्नो मित्र राष्ट्र बेलारुसका लडाकु विमानलाई आणविक क्षेप्यास्त्र प्रहार गर्न सक्ने बनाउन तयार रहेको धम्की दिएको छ ।

अन्तर्राष्ट्रिय विदेश नीति विशेषज्ञहरूको सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्नु अर्थहीन भएको बताए। “हामीले यसको कुनै आवश्यकता देख्दैनौं,” उनले भने- “यसको कुनै अर्थ छैन, न राजनीतिक, न सैन्य।” पुटिनले आफ्नो लामो भाषणमा अमेरिका र उसका सहयोगीहरूलाई कडा निशाना बनाएका थिए। उनले अमेरिका र यसका सहयोगीहरूले “खतरनाक, रक्तपातपूर्ण र फोहोर” प्रभुत्वको खेलमा अन्य देशहरूमा आफ्ना सर्तहरू थोपाउन खोजेको आरोप लगाए।

पुटिनले तर्क गरे – “विश्व एक महत्वपूर्ण मोडमा छ जहाँ पश्चिमले अब मानवजातिको लागि आफ्नो इच्छा थोपाउन सक्षम छैन, तर अझै पनि त्यसो गर्ने प्रयास गर्दछ र धेरै देशहरूले यसलाई सहन चाहँदैनन्।” उनले पश्चिमी नीतिले थप अराजकता निम्त्याउने दाबी गरे । उनले पश्चिमा देशहरुले रुसको सार्वभौमसत्तालाई खतरामा पारेको दाबी गरे । यसअघि पनि पुटिनले आफ्नो भूमिमा आक्रमण भए कडा प्रतिशोधको धम्की दिएका छन् । त्यसपछि उनले रुसी भूमिमा आक्रमण भएमा परमाणु हतियार प्रयोग गर्न नहिचकिचाउने बताए ।

पुटिनले रुसले युक्रेनमा कहिल्यै आणविक हमला नगर्ने दाबी गरेका छन् । तर, विगतमा यस्ता धेरै अवसरहरू आएका छन्, जब पुटिन आफ्नो वाचाबाट पछि हटेका छन्। पुटिनले फेब्रुअरी २४ मा युक्रेनमा विशेष सैन्य कारबाहीको घोषणा हुनुभन्दा एक दिन अघिसम्म आक्रमणको इन्कार गरे। त्यसपछि उनले रुसी सेनाले लडाईको तयारी जाँच गर्न अभ्यास गरिरहेको बताए । उनले रुसी सेना आफ्नो सिमाना भित्र कतै पनि जान स्वतन्त्र रहेको र कुनै पनि देशले यसमा प्रश्न गर्न नहुने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com