युक्रेनी राष्ट्रपतिलाई सघाउने बेलायतका प्रधानमन्त्री ऋषि सुनकको आश्वासन


प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ ।

“युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गर्नुभएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायतका किभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

“रूसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएकोे तथा निरङ्कुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,” युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलायतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किभ पोष्टमा  प्रकाशित समाचारमा भनिएको छ ।

यसैबीच युक्रेनका लागि आवश्यक रहेको आर्थिकलगायतको सहयोग गर्ने विषयमा युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीच छलफल भएको छ ।

युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले मङ्गलबार सो कुराको जानकारी गरएको हो । प्रधानमन्त्री साइहालले आगामी सन् २०२३ मा युक्रेनमा आइएमएफको नयाँ आयोजना सुरु हुने बताउनुभएको थियो ।

जर्मनीको बर्लिनमा मङ्गलबार भएको सो छलफलका क्रममा उहाँले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताउनुभएको थियो । यस क्रममा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका साथ अघि बढिने बताउनुभएको थियो ।

यस वर्षमात्र युक्रेनले आइएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो । सो सहयोगलाई निरन्तर गर्दै आगामी वर्षका लागि नयाँ कार्यक्रमका साथ आयोजनाहरु ल्याइने आइएमएफले जनाएको छ ।

युक्रेनमाथि रुसले हमला गरेपछि यहाँको अर्थतन्त्र नाजुक बनेको छ । साथै यहाँका कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com