ग्लोबल हंगर इन्डेक्समा पाकिस्तान र नेपालभन्दा खराब देखाएपछि भारत आक्रोशित


प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार

ग्लोबल हंगर इन्डेक्समा भारत १०७ औं स्थानमा आएको प्रतिवेदनमा केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ।

सरकारले विज्ञप्ति जारी गर्दै यो सूचकांकलाई भारतको खराब छवि भन्दै भोकमरी मापन गर्ने गलत तरिका भएको बताएको छ।

विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने ग्लोबल हंगर इन्डेक्स प्रतिवेदनमा भारत १२१ देशमध्ये १०७औँ स्थानमा छ । यो सूचकांकमा भारतको स्थिति पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेशभन्दा खराब छ ।

यस सूचकाङ्कमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा राम्रो स्थानमा छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यस सूचकाङ्कमा ६४औँ स्थानमा रहेको छ ।

यस सूचकाङ्कमा भारतलाई १०७ औं स्थानमा राखेपछि भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयको विज्ञप्तिमा भारतको छवि बिगार्ने प्रयास फेरि एकपटक देखिएको उल्लेख छ । ग्लोबल हंगर इन्डेक्स रिपोर्ट गलत जानकारी भएको मन्त्रालयले जनाएको छ ।

सूचकांकमा भोक मापन गर्ने गलत विधि भएको र मापन पद्धति गम्भीर समस्याबाट ग्रस्त रहेको मन्त्रालयको भनाई छ। सूचकांक मापन गर्ने चारमध्ये तीनवटा विधि बालबालिकाको स्वास्थ्यसँग मात्र सम्बन्धित भएको र यसले सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व नहुने वक्तव्यमा उल्लेख छ ।

ग्लोबल हंगर इन्डेक्सको सुचकांक कुल स्कोरमा दिइएको छ। यो अंक विशेष गरी कुपोषण, गम्भीर शिशु कुपोषण, बालबालिकाको वृद्धि र बालमृत्युदरका चार सूचकहरूको मानमा मापन गरिन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com