आक्रमणको धम्कीपछि हल्याण्डकी राजकुमारी दरबार फिर्ता


प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार

अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बस्नुभएकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सर्नुभएको छ ।

स्वीडेनको राजकीय भ्रमणमा रहनुभएका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का सञ्चारमाध्यमलाई राजकुमारी दरबार फर्केको बताउनुभएको हो ।

“उनको यो निर्णयले उनको जीवनको लागि ठूलो महत्व राख्दछ, अब उनी एम्स्टर्डममा बस्दिनन् र वास्तवमा बाहिर जान सक्दिनन्,“ रानी म्याक्सिमाले छोरीको निर्णयको सराहना तथा उहाँप्रति गर्व गर्दै भन्नुभयो । राजा विलेम–अलेक्जेन्डरले आफ्नी छोरीको अवस्थालाई ‘अति कठिन’ भन्नुभएको छ ।

यसै वर्षको ग्रीष्मयाममा १८ वर्षीया राजकुमारी अध्ययन गर्न एम्स्टर्डमको एक आवासीय भवनमा सर्नुभएको थियो । गत महिना डे टेलिग्राफ अखबारले राजकुमारीको सुरक्षाका निम्ति उल्लेखनीय रूपमा काम गरिएको समाचार प्रकाशन गरेको थियो ।

राजकुमारीमाथि सङ्गठित आपराधिक गिरोहबाट आक्रमण वा अपरहणको जोखिम बढेको थियो । राजकुमारीमाथि आक्रमणको धम्कीपछि देशको सुरक्षा निकायले उहाँको सुरक्षा सुनिश्चित गर्न अहोरात्र कडा मेहनत गरिरहेको न्याय एवम् सुरक्षामन्त्री डिलन येसिलगोजले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com