अमेरिकामा १० देखि २० हजारसम्म विद्यार्थी ऋण मिनाहाका लागि आवेदन खुला


प्रकाशित मिति : आश्विन २८, २०७९ शुक्रबार

बाइडेन प्रशासनले शुक्रबार साँझबाट विद्यार्थी ऋण राहत खोज्नेहरुका लागि आवेदन खुला गरेको छ । आवेदन दिने वेवसाइटको औपचारिक सुरुवात यसै महिनाको अन्त्यमा गरिने भएपनि आवेदकहरूले त्यो अगाडि नै ऋण मिनाहाका लागि साइन अप गर्न सक्नेछन् ।

गत अगस्टमा राष्ट्रपति बाइडेनले बार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी हुनेहरुको १० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय घोषणा गरेका थिए । त्यस्तै पेल अनुदान प्राप्त गर्नेहरुका सन्दर्भमा भने २० हजार डलरसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेका थिए ।

आजबाट डिपार्टमेन्ट अफ एजुकेशनले विद्यार्थी ऋण मिनाहाका लागि आवेदन दिने वेबसाइटको बीटा परीक्षण सुरु गरेको हो । बीटा परीक्षण अवधिमा आवेदकहरुले बाइडेन प्रशासनको विद्यार्थी ऋण राहत कार्यक्रमको लागि आवेदनहरू पेश गर्न सक्ने डिपार्टमेन्ट अफ एजुकेशनका प्रवक्ताले बताएका छन् ।

बेटा अवधिमा ऋण राहतको लागि आवेदन दिने आवेदकले एक कन्फर्मेशन इमेल प्राप्त गर्नेछन् । तर आवेदन दिने वेवसाइट औपचारिक रूपमा सुरु नभएसम्म प्रक्रियामा उनीहरुको आवेदन प्रकृयामा भने जानेछैन ।

एक पटक प्रक्रिया सुरु भएपछि धेरै योग्य आवेदकहरुले केही हप्ता भित्र ऋण मिनाहा प्राप्त गर्ने अपेक्षा गरिएको छ । आवेदकहरुले बिटा परीक्षणको क्रममा आफ्नो आवेदन पेश गरेमा पुन आवेदन दिन आवश्यक पर्दैन ।

आवेदन दिने फारममा ऋण मिनाहाका लागि को योग्य छ र यसले कसरी काम गर्छ भन्ने जानकारी समावेश गरिएको छ । यसले आवेदकहरूलाई उनीहरूको पूरा नाम, सोसल सेक्युरिटी नम्बर, जन्म मिति, फोन नम्बर र इमेल ठेगाना सहित जानकारीको लागि सोध्नेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com