राष्ट्रपति उम्मेदबार भइसकेकी हिन्दु नेतृ तुलसी गबार्डबाट डेमोक्रेटिक पार्टी छाड्ने घोषणा


प्रकाशित मिति : आश्विन २५, २०७९ मंगलबार

अमेरिकाको हवाईकी पूर्व सांसद तुलसी गबार्डले डेमोक्र्याटिक पार्टी छोड्ने घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियो कथनमा ४१ वर्षीय गबार्डले डेमोक्र्याटहरूले हरेक मुद्दालाई जातियकरण गरेर, गोरा विरोधी जातिवादलाई उचालेर र अमेरिकाको संविधानमा राखिएको ईश्वर प्रदत्त स्वतन्त्रतालाई कमजोर पार्न सक्रिय रूपमा काम गरिरहेको आरोप लगाएकी छिन् ।

आजका डेमोक्र्याटहरू आस्था र आध्यात्मिकताका मानिसहरूसँग शत्रुतापूर्ण रहेको उनले आरोप लगाइन् । उनीहरूले पुलिसलाई राक्षसीकरण गरेको र कानून पालन गर्ने अमेरिकीहरूको खर्चमा अपराधीहरूलाई संरक्षण गरेको उनले आरोप लगाइन् ।

आजका डेमोक्र्याटहरू खुला सिमानामा विश्वास गर्ने र राष्ट्रिय सुरक्षाको विषयलाई राजनीतिक हतियार बनाएको उनले आरोप लगाइन् । आजका डेमोक्र्याटहरूले आणविक युद्ध गर्न अझ नजिक तानिरहेको समेत उनले बताइन् ।

गबार्डले डेमोक्र्याटिक पार्टी शक्तिशाली अभिजात वर्गको सरकारको पक्षमा रहेको बताइन् । उनले आफ्ना स्वतन्त्र विचारधाराका डेमोक्र्याटहरूलाई पनि पार्टी छोड्न आह्वान गरिन्।

उनको टिप्पणी रिपब्लिकन निर्वाचित अधिकारीहरुका विचारहरुसँग मिल्दो जुल्दो रहेको छ । जसले अपराधमा वृद्धिको लागी र मेक्सिको सीमाबाट देशमा प्रवेश गर्ने आप्रवासीहरुको बृद्धिको लागी डेमोक्र्याटहरु लाई दोष दिदै आएका छन् ।

गबार्ड सन् २०२० मा अमेरिकी राष्ट्रपतिको लागि डेमोक्र्याटिक प्राइमरीमा उम्मेदबार थिइन् । उनले प्रायः विभिन्न मुद्दाहरूमा पार्टी कहाँ उभिएको छ भनेर प्रश्न गर्दै डेमोक्र्याटिक नेताहरूको आलोचना गरेकी थिइन् ।

गबार्डले आफ्नो अभियान सुरु गर्नु अघि नै हिलारी क्लिन्टनले २०१९ मा रिपब्लिकनहरूले गबार्डलाई तेस्रो पार्टी उम्मेद्वारको रूपमा उम्मेदवार बनाउन लागेको बताएकी थिइन् । ग्याबार्डको नाम उल्लेख नगर्दै क्लिन्टनले गबार्ड रूसीहरूको मनपर्ने उम्मेदबार भएको बताएकी थिइन् ।

गबार्डले मार्च २०२० मा आफ्नो चुनावी अभियान रोकेर जो बाइडेनलाई समर्थन गरेकी थिइन् । उनी २०१३ देखि २०२१ सम्म संसद सदस्य थिइन् । उनले सन् २०१३ देखि २०१६ सम्म डेमोक्रेटिक नेशनल कमिटिको भाइस चेयरका रुपमा काम गरिन् ।

राष्ट्रपतिका लागि प्राइमरीमा उम्मेदबारीपछि गबार्ड प्रायः फक्स न्यूजमा राजनीतिक टिप्पणीकारको रूपमा देखा पर्दै आएकी छिन् । जहाँ उनले प्रायः डेमोक्र्याटहरू विरुद्ध बोल्दै आएकी छिन् ।

गबार्डको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो। २१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी थिइन्।

राज्यका सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा स्वच्छ ऊर्जाको प्रवर्धन गर्दै स्वच्छ तथा सौर्य ऊर्जाका निम्ति आवश्यक उत्पादनलाई कर छुट दिने कानून बनाउने विषयलाई समर्थन गरेकी थिइन्। त्यसपछि उनी हवाई आर्मी नेशनल गार्ड सर्विसमा सामिल भएर एक वर्षसम्म इराक युद्धमा होमिइन्।

सन् २०१५ मा अमेरिकी सेनाको मेजर पदमा पुगेकी थिइन् उनी । उनले अमेरिकी राष्ट्रपति पदमा आफ्नो दाबेदारी पेश गरे लगत्तै भारतमा उनी ट्विटरमा चर्चित बनेकी थिइन् । तर वास्तवमा भारतसँग उनको कुनै प्रत्यक्ष नाता छैन।

उनको आमाबुवा पनि भारतीय मूलका होइनन्। तर हिन्दू धर्मावलम्बी भएका कारण अमेरिकामा रहेका भारतीय समुदायले उनको समर्थन गर्ने गर्छन्। त्यसमाथि तुलसीको नाममा अमेरिकी संसदमा पुग्ने पहिलो हिन्दूको रेकर्ड पनि रहेको छ। अमेरिकी न्यूज च्यानलको एउटा कार्यक्रममा हिन्दूहरूको विरोधमा एक टिप्पणी गरिएपछि उनले कडा विरोध जनाएकी थिइन्।

तुलसी गबार्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खास समर्थकका रूपमा हेरिन्छ। सन् २०१४ मा प्रधानमन्त्रीमा चुनिनु अघिदेखि नै गबार्डले मोदीको समर्थन गर्थिन्।

जब अमेरिकी सरकारले सन् २००२ मा गुजरातमा भएका साम्प्रदायिक दङ्गाको कारण तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो तब तुलसी गबार्ड ती थोरै अमेरिकी नेतामध्ये थिइन् जसले सरकारको सो फैसलाको आलोचना गरेका थिए। हिन्दू धर्म मान्ने तुलसीले आफ्नो भारत यात्राका क्रममा प्रधानमन्त्री मोदीसँग भेटघाट गरेकी थिइन्।

केही वर्ष पहिले हिन्दू रीतिरिवाजका साथ विवाह गरेकी तुलसी गबार्ड भारतीय प्रधानमन्त्री मोदीको अन्तर्राष्ट्रिय योग दिवससम्बन्धी पहलको समर्थक हुन्।

गबार्डको राजनीतिक झुकावको कुरा गर्दा अमेरिकामा उनको छवि यस्तो नेताको रूपमा छ जसलाई रिपब्लिकन दलका मानिस पनि मन पराउँछन् । सन् २०१६ मा उनले राष्ट्रपतिको चुनावताका डेमोक्र्याटिक पार्टीका तर्फबाट हिलरी क्लिन्टनको साटो बर्नी स्याण्डर्सको उम्मेदवारीको समर्थन गरेकी थिइन्।त्यतिखेर उनले सोही कारण डेमोक्र्याटिक नेशनल कमिटिको उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com