भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन


प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उहाँलाई उपचार गरिएको थियो ।

उहाँकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिनु भएको हो । समाजवादी पार्टीको स्थापना स्वर्गिय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गर्नुभएको थियो ।

झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नु भएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उहाँ सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनु परेको थियो । उहाँलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो ।

उहाँले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिनु भएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्नुहुन्थ्यो ।भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उहाँ तीन पटक मुख्यमन्त्री बन्नु भयो भने एक पटक केन्द्रीय मन्त्री समेत हुनुभएको थियो ।

आम निर्वानचनबाट उहाँ १० पटक निर्वाचित हुनुभएको थियो । ती मध्ये सात पटक लोक सभा सदस्य बन्नु भएको थियो । उहाँ पहिलो पटक सन् १९६७ मा २८ बर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com