माहुरी पालेर प्रशस्त आम्दानी गर्दै दाङका किसान, १२ करोड ९० लाखको मह बिक्री


प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ ।

घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न थालेको १९ वर्ष भयो । घोराहीमा रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रमा कर्मचारीको रूपमा काम गर्दा बोनस दिने चलन थियो । जागिर गर्दै गर्दा प्रत्येक वर्ष पाँच हजार रुपैयाँ बोनस दिने गरेको थियो । विसं २०६० को बोनसमा प्रेमबहादुरले माहुरीको एउटा घार बोनसको रूपमा माग गर्नुभयो । बोनसमा पाएको एक घार माहुरीबाट सुरु गरेको उहाँसँग अहिले ९७ घार माहुरी रहेका छन् । एउटा घार माहुरीमा १० किलोसम्म मह उत्पादन हुन्छ । यसपालि ४० क्विन्टल मह उत्पादन भएको थियो । मह र माहुरी बिक्री गरेर रु १० लाख कमाइ भएको उहाँले बताउनुभयो । खर्च कटाउँदा रु सात लाख आम्दानी भएकोे छ । धेरै मेहनत गर्नु पनि नपर्ने र धेरै खर्च पनि नहुने भएकाले यो व्यवसाय राम्रो भएको उहाँको भनाइ छ ।

दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरी जस्तो फूल मुख्य चरनका रूपमा भए पनि बाह्रै महिना उपलब्ध नहँुदा चरनका लागि जिल्लाबाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुरका चेतमान भण्डारीले १९ वर्षदेखि माहुरीपालन व्यवसाय शुरु गर्नुभएको छ । उहाँले विशाल माहुरी फर्मको नामबाट माहुरीपालन गर्दै आउनुभएको छ । उहाँसँग दुई सय घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु १५ लाख आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत ५० प्रतिशत अनुदानबाट मह भण्डारणको मेसिन सहयोग पाएको उहाँले बताउनुभयो । माहुरी जोन कार्यक्रमअन्तर्गत सङ्कलन र प्रशोधनको सहयोग पाएको भण्डारीले बताउनुभयो । माहुरी पाल्न सजिलो भए पनि चरनको समस्याले गर्दा केही चुनौती छ । “गत वर्ष बर्दियाको गुलरिया माहुरी चराउन लगेको थिएँ, यसपालि कहाँ जाने भन्ने निश्चित भएको छैन”, उहाँले भन्नुभयो ।

उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार ४० किलोसम्म मह उत्पादन हुने भण्डारीको अनुभव छ । खेतबारीमा गरेको मेहनतको तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उहाँ बताउनुहुन्छ ।

माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताउनुभयो । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन् । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाइएको छ । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।

नेपाल माहुरीपालक सङ्घका अध्यक्ष विष्णु श्रेष्ठले जिल्लामा मह उत्पादन भए पनि मह खानेको सङ्ख्या भने कम रहेको र महको महत्त्व बुझाउन समस्या भइरहेको बताउनुभयो । यसरी उत्पादन भएको मह जिल्लामा खपत नभएपछि कृषकले बिक्रीका लागि बाहिरी जिल्लामा पठाउने गरेका छन् । दाङमा यस वर्ष चार सय ५० टन मह उत्पादन भएकोमा २० टन मात्र बिक्री हुन बाँकी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्ष दाङबाट रु १२ करोड ९० लाखको मह बिक्री भएको छ । यहाँ उत्पादित मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जका सहरमा बढी जाने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । तोरीको मह रु पाँच सय, चिउरीको मह रु छ सय र रुदेलो चिउरीको मह रु सात प्रतिकिलोमा बिक्री भएको उहाँँले बताउनुभयो । “दाङ माहुरीपालनका लागि अन्य जिल्लाभन्दा उत्कृष्ट जिल्लाको रूपमा रहेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com