बसाइँसराइले उराठिएको ‘टोकरीगाउँ’


प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार

जीर्ण घरहरू । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ ।

बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी प¥यो भने अस्पतालसम्म पुर्‍याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउनै रित्तो बन्दै गएको हो ।

यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएका परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवा विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्नुहुन्छ, “गाउँमा कोही बिरामी पर्यो भने तत्काल अस्पताल पुर्‍याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारी सबै बाँझो बनेका छन्, बूढाबूढी र केटाकेटी मात्रै छन् अहिले गाउँमा, केटाकेटी पनि बजारतिरै झर्न थालेका छन् ।”

विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिँदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताउनुभयो । दिनदिनै गाउँमा मान्छे घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । “बुढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्”, थापाले भन्नुभयो, “सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरू गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउनुभयो । उहाँ एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउनुहुन्छ । “पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजिलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीमा कालोपाती उम्रिएको छ”, थापाले भन्नुभयो ।

विदेशमा राम्रो कमाइ हुनेले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको स्थानीय विष्णु थापा बताउनुहुन्छ । “१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो”, थापाले भन्नुभयो, “अहिले त जापानबाहेक अरू ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरू सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवार नै उतै लगे, गाउँ सुनसान भयो ।”

उहाँले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने बताउनुभयो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएका पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेहरू मात्रै छन् ।”

बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा जम्मा १६ जना विद्यार्थी रहेको उहाँको भनाइ छ । प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा ३ र ४ मा विद्यार्थी छैनन् । विद्यालय दुई जना शिक्षकको भरमा चलेको उहाँको भनाइ छ । “बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापानतिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङतिर झारेका छन्, गाउँमा मान्छे नै कम छन्, विद्यार्थी धेरै हुने त झन् कुरै भएन”, प्रअ थापाले भन्नुभयो, “कक्षा ५ सम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थी नै छैनन्, १६ विद्यार्थीलाई दुई शिक्षकले पढाउँछौँ, तीन वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो ।”

उहाँले धेरै नागरिकले सेवा सुविधाको पछि लाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताउनुभयो । बसाइँसराइले सिङ्गो गाउनै रित्तो बन्न थालेको उहाँको भनाइ छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार रहेका थिए । अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । “मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका पनि बिस्तारै बजार झर्ने तयारीमा छन्”, थापाले भन्नुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहजरुपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताउनुभयो । उहाँले पहिले देखिनै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताउनुभयो ।

“गलकोटमा बसाइँसराइ गर्नेको सङ्ख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ”, प्रमुख गैरेले भन्नुभयो, “ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ ।”

उहाँले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताउनभयो । ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उहाँको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com