विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

 

रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित  १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाए अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।

यस अघि यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो । आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।

आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको समितिले जनाएको छ । आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com