रियल लभ
प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार
असार २३, २०७४- काठमाडौं गोकर्णेश्वर महादेव मन्दिरबाट करिब ४ किलोमिटर उत्तरतिर पर्छ सुन्ताखान । गत साता त्यहाँ पुग्दा भीमदेव आधारभूत स्कुलमा विद्यार्थीसँग रमाइरहेका थिए अमेरिकी किशोर किशोरी । विद्यार्थीलाई विभिन्न क्रियाकलापमा संलग्न गराइरहेका थिए तिनीहरू ।
कक्षाकक्षामा थिए उनीहरू । कोही गालामा पेन्टिङ गर्दिराखेका थिए । कोही आर्ट सिकाइरहेका थिए । कोही खानपिनबारे बताइरहेका थिए । कोही कक्षाकोठा डुलेर विद्यार्थीलाई सरसफाइ सिकाइरहेका थिए । कोहीले उहींकै विधिमा चित्रकला सिकाइरहेका थिए । ‘यो के हो थाहा छ ?,’ कक्षाकोठामा जम्मा भएका विद्यार्थीलाई पेन्टी देखाउँदै क्रिश्चियनले सोधे,’ ‘ह्वाट इज दिस ?’
अंग्रेजी बालबालिकाले बुझेनन् । त्यसलाई उल्था गर्न खटिएकी थिइन्– सस्मिता गिरी, अनुषा विष्ट, सुष्मा विष्ट, उरुषा थापालगायत स्थानीय युवती । क्रिश्चियनले सोधेका प्रश्नको उनीहरूले उल्था गरिदिए । केहीबेर किन सफा पेन्टी लगाउनुपर्छ भनेर क्रिश्चियनले जानकारी दिए । अनि सबैलाई एक–एक पेन्टी उपहार दिए । बालबालिकाले दंग पर्दै पेन्टी झोलामा राखे ।
यो दृश्य हेरिरहेका रोटरी क्लब अफ काठमाडौं मेट्रोका सचिव नवीन पाण्डेले आफ्नो मोबाइल पकेटबाट झिके । एउटा भिडियो देखाए । हिँडिराखेकी बालिकाको खुट्टो समाएको दृश्य थियो त्यसमा । खुट्टो समाउने तिनै किशोर क्रिश्चियन थिए । स्कुल जाँदै गरेकी ती बालिकाको गोडामा हिलो थियो । क्रिश्चियनले उनको गोडाको हिलो पेपरले पुछिदिए । औंलाको कापकापका फोहोर पुछिदिए । चप्पल पनि हिलाम्मे थियो । त्यसलाई पनि मिहिनेत गरेर पुछिदिए । बालिका दंग परिन् । क्रिश्चियन पनि खुसी हुँदै उठे । ३८ मिनेटको दृश्य पनि खिचिएको रहेछ । यो भिडियो हेर्दै रोटरी क्लब अफ काठमाडौं मेट्रोका सचिव नवीन पाण्डेले प्रतिक्रिया दिए, ‘रियल लभ भनेको यही हो ।’
गोकर्णेश्वर महादेव मन्दिरबाट चार किलोमिटर माथि छ भीमदेव आधारभूत स्कुल । गोकर्णेश्वर नपा २ सुन्ताखानको यो स्कुललाई केन्द्र बनाएर दुई साता सामाजिक काममा खटिए अमेरिकी किशोरकिशोरी ।
कामका लागि विभिन्न टिम बनाए । टिम बनाएर घरघर डुले । समाज बुझे । समाजका समस्या पहिचान गरे ।
वर्षमा दुई सिजन आउँछन् यहाँ स्वयंसेवक । शिक्षा, स्वास्थ्य, बाटोलगायत पूर्वाधारमा पछि परेको छ यो क्षेत्र । त्यही भएर रोटरीले आफ्नो कार्यक्षेत्र बनाएको छ यो ठाउँलाई । रोटरी र अमेरिकाको युथ लिंकबीच सहकार्य भइरहेको छ । सन् २०१४ देखि यो क्षेत्रमा केन्द्रित भएर काम गरिएको छ । विद्यार्थीलाई मात्रै होइन, अभिभावकमा पनि केन्द्रित हुन्छन् । उनीहरूलाई व्यावसायिक तालिम दिन्छन् । योपालि सिलाइ बुनाइ तालिम दिए ।
‘दुवैको गोल मानवीयता हो,’ पाण्डे भन्छन्, ‘त्यही भएर हाम्रो सहकार्य भइरहेको छ ।’
इकोनमी, कम्युनिटी डेभलपमेन्ट, शिक्षा र स्वास्थ्य गरी चारवटा क्षेत्रमा केन्द्रित भएर काम गरिएको छ । युथ लिंक र गाउँका मान्छेसँग सम्पर्क भइरहेको छ । शिक्षा, स्वास्थ्य, सामुदायिक विकास, आर्थिक विकासका माध्यमबाट समाजलाई कसरी अगाडि लैजाने भनेर प्रयास भएको पाण्डे बताउँछन् । ‘शान्ति ल्याउन र द्वन्द्व कम गर्न यी क्षेत्रको विकास जरुरी छ,’ पाण्डे भन्छन् ।
यहाँ बाटोको ट्रयाक खुलेको वर्षाैं बितेको छ । तैपनि अझै पिच भएको छैन । बाटो पिच नहुँदा विद्यार्थी हिँडेरै स्कुल आउँछन् । गत वर्ष बाटो पिच गर्न सम्झौता भयो । साढे ३ किलोमिटर मोटर बाटो यही वर्ष सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर बाटो जम्मा १८ सय मिटर मात्रै बनेको छ । ‘बस्तीको पल्लो छेउ भएकाले पनि यहाँ कसैको आँखा पुगेन,’ गोकर्णेश्वर २ का वडा अध्यक्ष उद्धव भण्डारी भन्छन्, ‘२०३७ सालमा ट्रयाक खुलेको बाटो बल्ल यो वर्ष पिच हुँदै छ । त्यो पनि ठेकेदारले काम छिटो नगरेकाले कहिले सम्पन्न हुने हो, ठेगान छैन ।’ यो बस्ती काठमाडौं उपत्यकाको उत्तरी कुनाको अन्तिम बस्ती हो । यहाँबाट उत्तरतिर शिवपुरी राष्ट्रिय निकुञ्ज सुरु हुन्छ ।’
विद्यालयमा कमजोर आर्थिक अवस्था भएका बालबालिका पढ्छन् । तिनको अभिभावकको आर्थिक अवस्था बलियो बनाउने उद्देश्यले युथ लिंकले बाख्रा उपलब्ध गराएको छ । यी बाख्रा पैंचो कार्यक्रमअन्तर्गत दिइन्छ । एउटा परिवारले पाठापाठी पाएपछि त्यो बाख्रा अर्काे परिवारलाई दिनुपर्छ । ‘भाडामा बस्ने अभिभावकले कहाँ लगेर पाल्नु भनेर लाँदैनन्,’ स्थानीयवासी सस्मिता गिरी भन्छिन्, ‘कमजोर आर्थिक अवस्था हुने यहाँका अभिभावकलाई पनि बाख्रा पैंचो कार्यक्रम आम्दानीको राम्रो स्रोत भएको छ ।’ यहाँ बाहुन, क्षत्री, तामाङलगायत जातिको बसोबास छ ।
सात समुद्रपारिबाट यहाँ आएर केही न केही सिकाएर जान्छन् । उनीहरूको दोभासेका रूपमा सस्मिता, अनुशा विष्ट, सुष्मा विष्ट, उरुषा थापालगायत ६ जना युवती छानिएका थिए । ६ जनामध्ये ४ जना सुन्ताखानकै थिए । उनीहरूले दोभासेको काम मात्रै गरेनन् । सँगै स्वयंसेवा पनि गरे । ‘उनीहरू कडा परिश्रमी छन् । त्यति टाढाबाट आएर पनि यहाँ गिट्टी बोकेका छन् । बालुवा चालेका छन् । पेन्टिङ गरेका छन् । वाल लगाएका छन्,’ सस्मिता भन्छिन्, ‘त्यति टाढाबाट आएर, अर्काेको देशमा गएर त यस्तो दु:ख गरेका छन् भने हामी हाम्रै देशका लागि किन नगर्ने ? हाम्रो समाजका लागि किन नगर्ने ? भनेर मोटिभेसन भइँदोरहेछ ।’
नवीनको भनाइमा मानवीय भावनाले आउने गर्छन् स्वयंसेवकहरू । छोटो बसाइमा ‘इमोसनल एट्याचमेन्ट’ बढ्छ । बालबालिकालाई बोक्छन् । काखमा राख्छन् । माया गर्छन् । मन जित्छन् । ‘दैवी विपत्ति आइलाग्दा पनि हाँस्न सक्ने क्षमता नेपालीमा छ,’ पाण्डे भन्छन्, ‘यही गुण उनीहरूलाई मन पर्छ । हाम्रा बालबालिका पनि भावनात्मक रूपमा कम छैनन् । कहिले कपाल चलाइदिन्छन् । कहिले के गर्छन् । माया देखाउँछन् । हिँड्ने बेलासम्म रोइदिन्छन् । बिदा हुने दिन रुवाबासी चल्छ । कोही त फेरि फर्केर पनि आउँछन् ।’
स्वयंसेवकहरू प्रेमलाई एक्सनमै देखाउन चाहन्छन् । फिल गर्न चाहन्छन् । ‘जस्तै बाख्रा किन्न पैसा उहींबाट पठाइदिएको भए पनि हुन्थ्यो,’ नवीन भन्छन्, ‘तर उनीहरूले आफ्नै हातले दिन चाहे । यो प्रेमलाई एक्सनमा देखाइएको हो । कुकुरलाई माथि छतबाट हड्डी फालिदिए पनि त्यसले खान्छ खान त तर छेउमै गएर हातले दियो भने त्यहाँ प्रेम एक्सनमा हुन्छ । सुमसुम्याउनुस् अर्कै फिल हुन्छ । चिया खाऊ भनेर कसैलाई ५० रुपैयाँ दिए पनि त्यसले चिया खान्छ । तर तपाईं आफैं गएर चिया खुवाउनुस्, त्यहाँ बेग्लै फिल हुन्छ । त्यो रियल लभ हो । त्यही अभ्यास गर्न आउँछन् उनीहरू ।’
नवीनको बुझाइमा उनीहरूको पहिलो त्याग घर छाड्नु हो । ‘परिवार छाडेर सात समुद्रपारि जान तयार हुनु पनि त्याग हो । यहाँ आएपछि उनीहरूले भनेको जस्तो खानेकुरा पाउँदैनन् । त्यो अर्काे त्याग हो,’ नवीन भन्छन्, ‘त्याग नगरी प्रेम हुँदैन । प्रेम नभई मानवीय भावना हुँदैन । मानवीय भावना नभई सेवा गरिँदैन । सेवा भावना नभएसम्म समाज उँभो लाग्न सक्दैन ।’