चीन एकताबद्ध भएपछि मात्र ताइवान सागर क्षेत्रमा साँचो शान्ति आउन,बाह्य हस्तक्षेप सह्य हुने छैन : चीन
प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार
एशियामा चीन-ताइवान तनावको उच्च रुप न्यूयोर्कमा भैरहेको संयुक्त राष्ट्र संघको अधिवेशनमा पनि महसुस भएको छ। संयुक्त राष्ट्र संघको ७७ औँ अधिवेशनलाई सम्बोधन गर्दै चीनका विदेशमन्त्रीले ताइवानमा हुने ‘बाह्य हस्तक्षेप’ विरुद्ध कडा कदम चालिने बताएका छन्।
वाङ यीले ताइवानलाई चीनमा पुनः एकीकरण गर्ने आफ्नो बाटोमा आउने जो कोहीले नराम्रो परिणाम भोग्नुपर्ने कडा चेतावनी विश्वभरका नेताहरुलाई दिएका छन् ।
उनले चीन पूर्ण रूपमा एकजुट नभएसम्म ताइवान जलडमरूमा शान्ति कायम हुन नसक्ने बताए। गत महिना अमेरिकी अधिकारीहरूले ताइपेईको भ्रमण गरेपछि चीन र ताइवानबीचको तनाव चरम सीमामा पुगेको थियो।
चीनका विदेशमन्त्री वाङ यीले ताइवानको दाबीप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिँदै विश्वभरका नेताहरूलाई भने्, ‘स्वशासित टापुलाई चीनमा गाभ्ने आफ्नो संकल्पको बाटोमा आउने जो कोहीले पनि कडा प्रतिक्रियाको सामना गर्नुपर्ने छ।’ वाङ यीले संयुक्त राष्ट्र संघको महासभामा भने, ‘चीन एकताबद्ध भएपछि मात्र ताइवान सागर क्षेत्रमा साँचो शान्ति आउन सक्छ।’ उनले बेइजिङले बाहिरी हस्तक्षेपको जवाफ दिन कडा कदम चाल्ने चेतावनी समेत दिए ।
ताइवानमाथि चीनको दाबी :
चीनले ताइवानमाथिको आफ्नो दाबीको कडा प्रतिवाद गर्दै आएको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट छुट्टिएर अहिले स्वशासित राष्ट्र बनेको छ। अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको भर्खरै ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव बढेको छ ।
चीनको लागि, ताइवान देशको नीतिको मुख्य मुद्दा भएको छ। यसअघि शुक्रबार, संयुक्त राष्ट्र महासभाको छेउमा, क्वाडका विदेश मन्त्रीहरूले स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्रलाई समर्थन गर्न क्वाड बहुपक्षीय सहयोगलाई अझ सुदृढ गर्न भेटेका थिए।
न्यूयोर्कबाट चीनलाई क्वाडको बलियो सन्देश
क्वाड, भारत, अष्ट्रेलिया, जापान र अमेरिकाको समूहले इन्डो-प्यासिफिक क्षेत्रमा यथास्थिति परिवर्तन गर्ने कुनै पनि एकपक्षीय कदमको कडा विरोध गरेको बताएको छ। वास्तवमा, चीनले लगभग सम्पूर्ण दक्षिण चीन सागरको दाबी गर्दछ, जबकि ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले आ(आफ्नो भाग दाबी गरिरहेका छन् ।






