नेपालमा डेंगुको महामारी बढ्दो, बिरामीले अस्पताल भरिभराउ
प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार
नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नामक रोग महामारीको रुपमा फैलिन थालेको छ । प्रि-मनसुन (समयभन्दा अघि नै आएको वर्षा)का कारण नेपालमा डेंगु तीव्र रुपमा फैलन थालेको विज्ञहरु बताउँछन् । पछिल्लो समय डेंगुका बिरामीहरुले अस्पतालका बेडहरु भरिभराउ हुन थालेका छन् ।
विशेषगरी बागमती र लुम्बिनी प्रदेशका जिल्लाहरूमा संक्रमण बढ्दो छ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल डेंगुका बिरामीहरुले भरिभराउ हुन थालेको छ । अस्पतालमा आईतबार चिकित्सकहरु विरामीलाई कुर्सीमा राखेर उपचार गर्न बाध्य भएका थिए ।

अस्पतालमा विरामीका आफन्तहरुले अस्पतालको सेवा व्यवस्थित नुहँदा समस्यामा पर्ने गरेको बताउँछन् । टिकट, रगत र रिपोर्टको लागि लाइनमा बसिरहनुपर्ने बाध्यता रहेको विरामीको कुरुवा अनिता महर्जन बताउँछिन् ।
उनी भन्छिन्, ‘कुर्न सक्यो, मान्छे छ, भने उपचार राम्रो छ, एउटा विरामीलाई कम्तीमा तीन जना कुर्ने मान्छे चाईन्छ । एकजनाले विरामी कुर्न पर्यो, एउटा टिकट भन्छ, रगत पनि लाइन बस्न पर्ने, रिपोर्टलाई पनि लाईन बस्न पर्ने, भिडभाड पनि बढि छ । त्यो भन्दा ठूलो समस्या कोरोनाको र डेङगुको टेष्ट गर्ने ठाउँ एकै ठाँउमा भयो । रिपोर्ट आउन ढिलो हुन्छ ।’ कोरानो र डेंगुको परिक्षण गर्ने ठाउँहरु छुट्टाछुट्टै राखिदिए सहज हुने उनी बताउँछिन् ।
उक्त अस्पतालमा मात्रै दैनिक दुईसय जना डेंगुको आशंकामा परिक्षणका लागि बिरामी आउने गरेका छन् । जसमध्ये करिब ८० प्रतिशतमा डेंगु पुष्टि भइरहेको टेकु अस्पतालका इन्चार्ज लिलानाथ भण्डारी बताउँछन् । उनले दैनिक दुई सय भन्दा बढी विरामीहरु उपचारको लागि आउने गरेको र अधिकांशमा ज्वरो र जिउ दुखाइको समस्या रहेको बताए ।

भण्डारी भन्छन्, ‘हाम्रो हस्पिटल मा पहिलो साताको तुलनामा दोस्रो साता धेरै विरामी बढेको छ । आजको दिनसम्म आइपुग्दा दिनको दुई सय भन्दा बढी इमर्जेन्सी मै भर्ना हुन आउने संख्या देखिन्छ, काठमाडौंमा यही क्षेत्रको भन्ने छैन जुन सुकै क्षेत्रबाट पनि ज्वरो र जिउ दुखाइको समस्या लिएर आउनु हुन्छ । दिनमै दुई सय भन्दा बढी आउने भीडभाड हुने धेरै जना बिरामीले मलाई भर्ना गर्दिनुस भन्दै आउने गरेका छन् ।’
टेकुमा अहिले गम्भीर लक्षणसहितका २२ जना अस्पतालमा भर्ना छन् । जसमध्ये चारजना आइसियूमा छन् । टेकु अस्पतालको इमर्जेन्सी वार्डमा शनिबार ८५, शुक्रबार ६८, बिहीबार ६५ र बुधबार ५९ जना उपचारका लागि पुगेका छन् । इमर्जेन्सीका सबै बेड भरिएपछि आइतबार कुर्सीमा राखेर बिरामीको उपचार गर्न बाध्य भएको अस्पतालले जनाएको छ । पछिल्ला चार दिनयता टेकुमा दैनिक सयजना डेंगुका बिरामी पछिल्लो दुई महिनायता उपत्यकामा मात्रै एक हजार चार सय १० जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ ।

विशेष गरी भदौको पहिलो साता देखि डेङ्गु ज्वरो आउने को संख्या बढेको डाक्टरहरु बताउँछन् । डेँङ्गु नियन्त्रणका लागि झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा किटनाशक औषधि छर्किर्न, घरवरपर पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न टेकु अस्पतालमा कार्यरत डा. श्रवण कुमार मण्डल सुझाव दिन्छन् ।
मण्डल भन्छन्- ‘लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्नुपर्छ ।’

डेंगु संक्रमण हुँदा टाउको आँखाको गेडी तथा आँखाको पछिल्लो भाग, ढाड, जोर्नी तथा मांसापेशीहरू तथा पेट दुख्ने साथै, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने लगाएतका लक्षणहरू देखिने विज्ञहरु बताउँछन् ।





