चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

–धु्रवसागर शर्मा /
बर्खाको समय, अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ ।

करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किनुभएका छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गर्नुभएको छ । आफ्नै पिता पुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुग्नुभएको हो ।

छन्त्यालले जङ्गल, भिर, पहरो छिचोलेर धौलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) बाट १० दिनको कठोर यात्रा पछि शुक्रबार धौलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिनुभएको छ । “विभिन्न समस्याको सामना गर्दै धौलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु”, छन्त्यालले भन्नुभयो । छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ । सिङ्गापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडापालन गर्नुभएको छ । भेडा बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आउनुभएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पिता पुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ । त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याल बताउनुहुन्छ ।

भेडाको बथान लिएर छन्त्याल धौलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धौलागिरि हिमालको बेसक्याम्पतिर उक्लनुभएको हो । “यो मेरा पिता पुर्खाले भेडापालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुबा, बाजे र अझै अघिल्ला पुस्ताको पैतालका डोब छन्, म मेरा पूर्वजका तिनै डोबलाई पछ्याउँदै उहाँहरुले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ”, छन्त्यालले भन्नुभयो । उहाँले जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताउनुभयो ।

एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उहाँले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइरहेको छ । बिहान उठेर भेडाको गणना गर्दै उहाँको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउनुहुन्छ ।

छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडापालन सुरु गरेको बताउनुभयो । भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उहाँको भनाइ छ । आफूबाहेक दुई हेरालोसमेत उहाँले राख्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com