संयुक्त राष्ट्रसंघको इकोसकले मनायो ८०औं वार्षिकोत्सव, बहुपक्षीयताको नयाँ मोडमा जोड
प्रकाशित मिति : माघ ९, २०८२ शुक्रबार
इकोसक ८०औं वार्षिकोत्सवमा महासभा अध्यक्ष अन्नालेना बेरबक, महासचिव एन्टोनियो गुटेरेस र इकोसक अध्यक्ष लोकबहादुर थापा । फोटो: किशोर पन्थी/खसोखास
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ले शुक्रबार न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा विशेष समारोहका साथ आफ्नो स्थापनाको ८०औं वार्षिकोत्सव मनाएको छ। समारोहको अध्यक्षता गर्दै नेपालका तर्फबाट इकोसक अध्यक्ष लोकबहादुर थापाले यस अवसरलाई “बहुपक्षीयताका लागि एउटा मोड” र मानिस तथा पृथ्वीका लागि “अझ राम्रो परिणाम दिने” राष्ट्रसंघीय प्रणालीको क्षमताको परीक्षाको रूपमा वर्णन गर्नुभयो।
“इकोसक ८०: बहुपक्षीयताका लागि एउटा मोड” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा राष्ट्रसंघका सदस्य राष्ट्रहरू, वरिष्ठ अधिकारीहरू, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका नेताहरू र प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति थियो।
समारोहको सुरुवात ‘सिटी सिम्फनी अर्केस्ट्रा अफ न्युयोर्क’को साङ्गीतिक प्रस्तुतिबाट भएको थियो। त्यसपछि सन् १९४६ को पहिलो बैठकदेखि परिषद्को विकासक्रम झल्काउने “इकोसक एट ८०” नामक भिडियो प्रदर्शन गरिएको थियो।
अध्यक्ष थापाले ८० वर्षअघि २३ जनवरी १९४६ मा लण्डनमा परिषद्को पहिलो बैठक बसेको स्मरण गर्नुभयो। राष्ट्रसंघको बडापत्रले परिषद्लाई जीवनस्तर सुधार्ने, पूर्ण रोजगारी, सामाजिक प्रगति, र मानव अधिकारको विश्वव्यापी सम्मानका साथै अन्तर्राष्ट्रिय सहयोग बढाउने “साहसी र महत्त्वाकांक्षी” जिम्मेवारी दिएको उहाँले बताउनुभयो।
थापाले भन्नुभयो, “जहाँ गरिबी, भोक र असमानता कायम रहन्छ, त्यहाँ शान्ति टिक्न सक्दैन।” उहाँले हाल विश्वले सामना गरिरहेका जलवायु संकट र बढ्दो असमानता जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न कम विकसित र भूपरिवेष्ठित राष्ट्रहरूको हितमा अझ सशक्त परिषद्को आवश्यकता रहेकोमा जोड दिनुभयो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इकोसकलाई “प्रगतिको इन्जिन” भन्दै प्रशंसा गर्नुभयो। मानव अधिकारको विश्वव्यापी घोषणापत्रदेखि दिगो विकासका लक्ष्यहरू सम्मको यात्रामा परिषद्को भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो।
गुटेरेसले सरकारहरूलाई इकोसकको समन्वयकारी भूमिकालाई बलियो बनाउन र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार गर्न आग्रह गर्नुभयो। “यी संकटहरूलाई एकलौटी प्रयास वा शक्तिको भरमा समाधान गर्न सकिँदैन,” उहाँले भन्नुभयो।
महासभाका अध्यक्ष अन्नालेना बेरबकले परिषद्को सभाकक्षको अधुरो देखिने छतको उदाहरण दिँदै राष्ट्रसंघको सामाजिक र आर्थिक कार्य पनि “कहिल्यै पूर्ण नहुने” र यो निरन्तर चलिरहने प्रक्रिया भएको बताउनुभयो। उहाँले विशेषगरी महिला अधिकारका लागि महासभा र इकोसकबीच अझ बलियो सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
बार्षिकोत्सवका अवशरमा बहुपक्षीयताको नवीकरण विषयक एक उच्च स्तरीय अन्तरक्रियात्मक छलफल समेत भयो । साउथ अफ्रिकन ब्रोडकास्टिङ कर्पोरेसनका शेरविन ब्राइसपीसद्वारा सञ्चालित अन्तरक्रियामा मानवीय मामिलाका लागि सहायक महासचिव जोयस मसुया, विश्व बैंककी मारिया दिमित्रियादु, जाइकाका अध्यक्ष अकिहिको तानाका, न्यू इकोनोमिक्स फाउन्डेसनका ड्यानी श्रीस्कन्दराजा र अक्सफोर्डकी विद्वान सरु डकवर्थ वक्ताका रूपमा सहभागी थिए। सहभागीहरूले साझा संकटहरूका लागि सामूहिक समाधान र बलियो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिए।
समारोहको समापन गर्दै अध्यक्ष थापाले दिगो विकास लक्ष्य प्राप्त गर्ने समय नजिकिँदै गर्दा सदस्य राष्ट्रहरूलाई “अझ बढी तदारुकता र साझा जिम्मेवारी” का साथ काम गर्न आह्वान गर्नुभयो। उहाँले आफ्नो कार्यकालको मूल मन्त्र “डेलिभरिङ बेटर” लाई पुन: दोहोर्याउँदै इकोसकलाई अझ बढी समावेशी र भविष्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।






