जापान बस्ने जग्गा धनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ


प्रकाशित मिति : असार ५, २०७९ आईतबार

विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को क्षेत्रफल रहेको जग्गा बिक्री गर्ने पाँचजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला मालिकार्जुन गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घर भई हाल ललितपुरको सुनाकोठी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका घर भई हाल काठमाडौँ वनस्थली बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौँको तारकेश्वरकी ५८ वर्षीय ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् । तीमध्ये महावीर चन्दलाई काठमाडौँको मनमैजु, गणेश खनाल र बाबुराम कार्कीलाई चितवनको भरतपुर, प्रेमप्रसाद खनाल र ममता भन्ने डासीमाया श्रेष्ठलाई काठमाडौँको वनस्थलीबाट पक्राउ गरिएको हो ।

लोहनीले विसं २०६१ माघ १० गते किनेको उक्त जग्गा विसं २०७९ जेठ ५ गते जापानबाट काठमाडौँ आएर जग्गालाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उक्त जग्गा नक्कली कागजपत्र बनाएर विक्रीवितरण गरेको खुलेपछि लोहनीले प्रहरीमा उजुरी दिनुभएको थियो ।

उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुलाई काठमाडौँका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये महावीर चन्द लोहनीको नक्कली श्रीमान् बनेर नक्कली मृत्युदर्ता, नक्कली नाता प्रमाणित र नक्कली नागरिकता बनाएर जग्गा आफ्नो नाममा नामसारी गरेको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो । नक्कली श्रीमान् बनेका चन्दले तारानिधि लोहनीका नाममा जिल्ला प्रशासन कार्यालय लमजुङको ४२५६÷४०७ नंको कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“उक्त जग्गा विसं २०७७ माघमा नक्कली श्रीमान् तारानिधिले आफ्नो नाममा नामसारी गरी विसं २०७७ फागुन १५ गते भक्तपुरको सुनिता कर्माचार्यलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता महतोले भन्नुभयो ।

उक्त जग्गा हालसम्म पाँच जनाका नाममा बिक्री वितरण भइसकेको ब्यूरोले जनाएको छ । उक्त जग्गाको मूल्य हाल रु सात करोड बराबर रहेको बताइएको छ ।

प्रहरीले पक्राउ परेका विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नागरिकता चार थान, नक्कली तारानिधि लोहनीका नाममा जग्गाधनी प्रमाण पुर्जा एक थान, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जाको प्रतिलिपि सात थान, विभिन्न व्यक्तिको पासपोर्ट साइजका फोटो ६० थान बरामद गरेको छ ।

यसैगरी विभिन्न व्यक्तिको नाममा जारी भएका जग्गाधनी दर्ता स्रेस्ता पुर्जा तथा जग्गाको नक्साको प्रतिलिपि १२ थान, विभिन्न कम्पनीका मोबाइल १४ थान, विभिन्न सेवा प्रदायक कम्पनीको सिम २९ थानसमेत बरामद गरेको हो ।

पक्राउ व्यक्तिले विभिन्न स्थानका अन्दाजी चार बिघा जग्गा विभिन्न कीर्ते कागजातका आधारमा नक्कली कम्पनी तथा जग्गा धनीसमेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रवक्ता महतोले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com