स्थानीय भन्छन्- ‘त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन’


प्रकाशित मिति : जेष्ठ १५, २०७९ आईतबार

पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।

हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताउनुभयो ।

“हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उहाँले भन्नुभयो, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उहाँले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताउनुभयो ।

“घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उहाँले भन्नुभयो, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उहाँले बताउनुभयो ।

“त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उहाँले भन्नुभयो, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।”

सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com