भारतमा डोनाल्ड ट्रम्प गाउँ


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गरिरहेकै वेला भारतीय गाउँलाई अमेरिकी राष्ट्रपतिको नाम दिइएको छ ।

नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्ने सो गाउँमा मुसलमानहरूको बाहुल्यता छ । भारतमा शौचालयको प्रयोगका बारेमा चेतना जगाउने संस्था सुलभ इन्टरनेसनलले विश्वकै ध्यानाकर्षण गराउन गाउँको नाम परिवर्तन गरिदिएको हो । विश्वकै ध्यानाकर्षण गरी नमुना गाउँ बनाउन नाम परिवर्तन गरिएको सो संस्थाका संस्थापक विन्देश्वर पाठकले जानकारी दिए ।

कुल १६५ घरधुरी रहेको सो गाउँमा अहिलेसम्म जम्मा २० ओटा मात्र शौचालय छ । आगामी सन् २०१९ अक्टोबर २ सम्ममा सबै घरमा कम्तीमा एउटा शौचालय निःशुल्क बनाइने पाठकले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफा भारत बनाउने घोषणा गरेअनुसार गाउँमा सफाइ अभियान सुरु गरेको उनले बताए ।

हालै वासिङटनमा आयोजित एक कार्यक्रममा पाठकले मारोरालाई ट्रम्प गाउँ नामाकरण गरिएको बताए । ‘गाउँको सरसफाइका बारेमा बोलिरहँदा झट्ट मेरो दिमागमा गाउँको नाम परिवर्तन गर्ने विषय फु¥यो,’ उनले भने ।

अमेरिकी राष्ट्रपतिको नाममा गाउँको नाम राखेको यो पहिलोपटक भने होइन । राजधानीसँग सिमाना जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाउँलाई यसअघि कार्टरपुरी नाम दिइएको थियो । सो गाउँमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले सन् १९७८ मा भ्रमण गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com