सोमबार उद्घाटन हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ध्यान केन्द्र


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको एकै दिन उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ती दुई आयोजनाको सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ । यो विमानस्थल सञ्चालनमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनीलाई विमानस्थलले अन्तर्राष्ट्रियजगत्सँग सिधा हवाई सम्पर्क स्थापित गर्नेछ ।

सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आउनेछ ।

करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि मात्र हुनेछन् । बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिनुभयो । उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्ने महाप्रबन्धक दाहालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रियरूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिनुभयो ।

विसं २०७१ को माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो । विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको छ । विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन् ।

तीन हजार मिटर लामो धावनमार्गसहित पाँच विमान पार्किङ क्षमता छ । एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्याङ्की, बगैँचाहरूलगायत आवश्यक संरचना तयार भएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन् । विमानस्थलको क्षमता प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब रु ३२ अर्ब पुगेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन

सोमबार नै लुम्बिनीमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने भएको छ । २५६६औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस २०७९ का अवसर पारेर प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्न लाग्नुभएको हो । उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । केन्द्रको उद्घाटनपछि बुद्धपूर्णिमाको मूल समारोह कार्यक्रम यसै हलमा आयोजना हुनेछ । समारोहमा प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्नुहुनेछ ।

ध्यानकेन्द्रमा एकैपटक पाँच हजार जना अटाउने छाता शैलीको हलको छाना गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिको जडान गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । केन्द्रको चारैतिर पर्खाल लगाइएको छ भने पर्खालभित्र बुद्धका विभिन्न आकर्षक प्रतिमाहरू राखिएका छन् । योजना प्रमुख भट्टराईका अनुसार ७५० मिटर लम्बाइको कम्पाउन्ड वालको साढे सात÷सात मिटर फरकमा ९७ बुद्धमूर्ति राखिएका छन् । उक्त सभाहल निर्माणमा पहिलो चरणमा रु ३३ करोड र दोस्रो चरणमा करिब रु २७ करोड खर्च भएको बताइएको छ । उक्त सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com