अर्बपति उत्पादन गर्ने विश्वविद्यालय


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- डिग्री हासिल गर्दैमा धनाढ्य बन्न सकिन्छ भन्ने ग्यारेन्टी छैन । तर, विश्वका केही यस्ता विश्वविद्यालयहरू पनि छन्, जहाँ पढ्ने सौभाग्य पाएकामध्ये धेरैजना अर्बपति बनेका छन् । ती विश्वविद्यालयमध्ये हावार्ड सबैभन्दा माथि छ । हार्वाडमा पढेकाहरूमध्ये धेरैजना विश्वकै सर्वाधिक धनाढ्यहरूको सूचीमा समावेश छन् । धनाढ्यहरूबारे अध्ययन/अनुसन्धान गर्ने संस्था ‘वेल्थ एक्स’ फर्मले सार्वजनिक गरेको रिपोर्टमा हावर्ड विश्वकै सबैभन्दा टप युनिभर्सिटी हो, यहाँ पढेकामध्ये १३४ जना अर्बपति बनिसकेका छन् । तिनीहरूको कुल सम्पत्ति ५९० अर्ब अमेरिकी डलर रहेको छ ।

यसो त हावर्डबाट ‘ड्रपआउट’ गरेकाहरू पनि अर्बपति बनेकै छन् । तिनीहरूले बीचैमा पढाइ छाडे पनि विश्वका अर्बपतिहरूको सूचीमा आफ्नो नाम दरह्रोसँग राख्न सफल भएका छन् । तीमध्येका दुईजना त विश्वकै चर्चित धनाढ्य हुन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग त्यस्तै पात्र हुन्, हावर्डमा भर्ना भईकन पनि आफ्नो पढाइ पूरा गर्न सकेनन् । गेट्स त विश्वकै सर्वाधिक धनाढ्य हुन् । उनी वासिङटनस्थित मेडिनामा ६६ हजार वर्गफुटमा बनेको भिलामा आफ्नो अधिकांश समय बिताउँछन् ।

उनको यो महल वासिङटन लेकको किनारमा अवस्थित छ । गेट्सले यो महल बनाउनका लागि ६३ मिलियन अमेरिकी डलर खर्चेका थिए । उनको कुल सम्पत्ति ८९ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । यसैगरी जुकरबर्गको कुल सम्पत्ति ६२ दशमलव ६ अर्ब अमेरिकी डलर रहेको छ । उनी विश्वकै पाँचौं धनाढ्य पनि हुन् । उनले १९ वर्ष उमेरमा फेसबुक सञ्चालन गरेका थिए । हाल उनी फेसबुकका अध्यक्ष तथा सीईओ हुन् । क्लोफोर्नियास्थित पालो एल्टोमा आफ्नो सपनाको महल बनाएर बस्छन् । उनले यो महल बनाउन ९ दशमलव ९ मिलियन अमेरिकी डलर खर्चेका थिए । ५ हजार वर्गफुटमा फैलिएको त्यो भिला अत्यन्तै आकर्षक शैलीमा निर्माण गरिएको र उनी आफ्नो अधिकांश समय त्यहीँ व्यतित गर्छन् ।

‘वेल्थ–एक्स’ का अनुसार ७० प्रतिशत अर्बपतिहरू कुनै खास विश्वविद्यालयबाट स्नातक गरेकाहरू छन् । सन् २०१५–१६ को बिलियनर्स सेन्सस (अर्बपतिहरूको जनगणना) का अनुसार हावर्ड १३४ जना अर्बपति उत्पादन गर्दै एउटा ‘इलाइट क्लास’ को विश्वविद्यालय बनिसकेको छ । भर्ना भएको १० वर्षपछि हार्वार्ड स्नातकको औसत कमाइ ८७ हजार २ सय अमेरिकी डलर रहेको रिपोर्टमा छ । हावर्डपछिको सर्वाधिक धनाढ्य उत्पादन गरेको दोस्रो विश्वविद्यालय हो, क्यालिफोर्नियाको स्ट्यान्डफोर्ड । यसले ६७ जना अर्बपति उत्पादन गरिसकेको छ । नामांकनको १० वर्षपछि यो विश्वविद्यालयबाट स्नातक गरेकाहरूको औसत कमाइ ८० हजार ९ सय अमेरिकी डलर रहेको छ । युनिभर्सिटी अफ पेन्सल्भानियाबाट डिग्री हासिल गरेका ५४ जना अर्बपति बनेका छन् । यो संख्यासहित पेन्सल्भानिया विश्वविद्यालय तेस्रो स्थानमा छ । यहाँ नामांकनको १० वर्षपछि स्नातक गरेकाहरूको औसत कमाइ ७८ हजार २ सय अमेरिकी डलर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४३ जना अर्बपति उत्पादन गर्दै कोलम्बिया विश्वविद्यालय चौथो बनेको छ । यो विश्वविद्यालयमा नामांकनको १० वर्षपछि स्नातक गरेकाहरूको औसत कमाइ ७२ हजार ९ सय अमेरिकी डलर छ । यसैगरी ३१ जना अर्बपति उत्पादन गर्दै म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजी पाँचौं स्थानमा रहेको छ । यहाँ नामांकन गरेको १० वर्षपछि स्नातक गरेकाहरूको औसत कमाइ ९१ हजार ६ सय अमेरिकी डलर रहेको वेल्थ–एक्सको रिपोर्टमा छ । यीबाहेक कोर्नेल विश्वविद्यालयबाट स्नातक गरेकामध्ये २६, साउदर्न क्यालिफोनिर्याबाट २४, यालेबाट २३, सिकागो र न्युयोर्क विश्वविद्यालयबाट २२–२२ जना, क्यालिफोर्नियाबाट २१, अक्सफोर्डबाट २०, मिचिगन विश्वविद्यालयबाट १८ जना विश्वका अर्बपति सूचीमा समावेश छन् । ‘वेल्थ–एक्स’ ले सार्वजनिक गरेको ‘अर्बपति विश्वविद्यालयहरू’ बाट अर्बपति बनेकाहरूकाले प्राप्त गरेको डिग्रीहरू (स्नातक, स्नातकोत्तर, एमबीए, जेडी, एमडी वा पीएचडी) रहेका छन् । यो आलेख हावर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गरी अर्बपति बनेकाहरूमा केन्द्रित छ ।

सन् १९६६ मा हावर्ड विश्वविद्यालयबाट एमबीए गरेका माइकल ब्लुमबर्गको कुल सम्पत्ति ५१ अर्ब अमेरिकी डलर रहेको छ । ब्लुमबर्गका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेको माइकल न्युयोर्क सहरका तीनपटकसम्म मेयरसमेत बनिसकेका छन् । आफ्नो उद्यमशीलताबाट उनले विश्वभर धेरै सम्पत्ति जोडिसकेका छन् । कोलोराडो, फ्लोरिडा, लन्डनसहित विभिन्न सहरमा उनको घर छ ।

सन १९८९ मा उनले खरिद गरेकोको आकर्षक घरमा हाल आफ्नो दैनिकी बिताउन रुचाउँछन् । माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बालमर पनि हावर्डका विद्यार्थी रहिसकेका छन् । सन् १९७७ मा उनी त्यहाँबाट स्नातक गरेका हुन् । हाल उनी एनबीए लसएन्जेलस क्लिपर्सका मालिक हुन् । बालमरको कुल सम्पत्ति ३१ दशमलव ७ अर्ब अमेरिकी डलर रहेको छ । यसैगरी ३ जी क्यापिटलका निर्देशक तथा संस्थापकमध्येका एक जर्ज पउलो लेमन्न पनि हावर्ड स्नातक हुन् । उनले सन् १९६१ मा त्यहाँबाट उक्त डिग्री हासिल गरेका हुन । उनको कुल सम्पत्ति २९ दशमलव ८ अर्ब अमेरिकी डलर छ । एसेस इन्डस्ट्रिजका संस्थापक तथा अध्यक्ष लेन ब्लभाटनिक पनि हावर्डबाट सन् १९८९ मा एमबीए गरी आफ्नो व्यापारबाट अर्बपति बनेका छन् । उनको रुचि प्राकृतिक स्रोत, मेडिया, भेन्चर क्यापिटल र रियल इस्टेटमा रहँदै आएको छ ।

हावर्ड विश्वविद्यालयकै पूर्वविद्यार्थी रे ड्यालियो पनि हाल अर्बपति छन् । ‘ब्रिजवाटर’ का मालिक ड्यालियोको कुल सम्पत्ति १६ दशमलव ३ अर्ब अमेरिकी डलर रहेको छ । विश्वकै सबैभन्दा ठूलो हेज फन्ड्स ब्रिजवाटर एसोसिएसनका अध्यक्ष र संस्थापक उनले सन् १९७३ मा हार्वर्डबाटै एमबीए गरेका हुन् । यसैगरी वेस फाउन्डेसनका अध्यक्ष ह्यान्सजर्ग वेसले सन् १९६५ मा हावर्ड विश्वविद्यालयबाट एमबीएको डिग्री हासिल गरी आफ्नै कम्पनी चलाएर मनग्ये आम्दानी गर्दै आएका छन् । उनको कुल सम्पत्ति १३ अर्ब अमेरिकी डलर रहेको छ । हावर्डमा पढेका अर्का व्यक्ति हुन् जर्ज कैसर । जीबीके समूहका अध्यक्ष तथा सीईओसमेत रहेका उनले उक्त विश्वविद्यालयबाट सन् १९६४ मा बीए र सन् १९६६ मा एमबीएको पढाइ गरेका थिए । उनको कुल सम्पत्ति ११ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको छ । कैसरको तेल तथा ग्यास कम्पनी प्रमुख आम्दानीको स्रोत बनेको छ ।

ब्ल्याकस्टोन ग्रुपका अध्यक्ष तथा सीईओ स्टिफन स्वार्जम्यान पनि हावर्ड प्रडक्ट हुन् । उनको कुल सम्पत्ति १० दशमलव ९ अर्ब अमेरिकी डलर रहेको छ । सन १९७२ मा हावर्डबाट उनले एमबीएको पढाइ सकेर व्यापार थालेका हुन् । सन् १९८९ मा उनले ग्लोबल इक्विटी फन्ड ब्ल्याकस्टोन ग्रुपको स्थापना गरेका थिए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com