कोरोना संक्रमितलाई १० दिनको साटो ५ दिन क्वारेन्टीनमा बस्न अमेरिकन सीडीसीको सुझाव
प्रकाशित मिति : पुस १२, २०७८ सोमबार
अमेरिकन सीडीसीले कोरोना संक्रमितहरुलाई १० दिनको साटो ५ दिनमात्र क्वारेन्टीन वा आइसोलेसनमा बस्न सुझाव दिएको छ । कोरोना संक्रमितसँग सम्सर्गमा आएकाहरुलाई पनि क्वारेन्टीनको अवधि घटाएर १० दिनबाट ५ दिनमात्र बनाइएको छ ।
कोरोना संक्रमितहरुले लक्षण देखिनुभन्दा २ दिन अगाडि र लक्षण देखिएको ३ दिनसम्ममात्र अरुलाई सार्ने सम्भावना अत्याधिक भएको प्रमाणका आधारमा सीडीसीले क्वारेन्टीन र आइसोलेसनको अवधि घटाएको हो । कोरोनाको ओमिक्रोन भेरियन्टले विगतका भेरियन्टको तुलनामा कममात्र बिरामी बनाउने रिपोर्टहरु आइरहँदा सीडीसीले क्वारेन्टीनको अवधि घटाएको हो ।

सीडीसी निर्देशक रोशेल वालेन्स्कीले अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट अझ धेरै हुने बताएपनि सिकिस्त हुने सम्भावना भने कम भएको बताएकी छिन् । अधिकांश संक्रमितहरुमा लक्षण नै नदेखिने उनको भनाई छ ।
गतसातामात्र सीडीसीले कोरोना संक्रमित स्वास्थ्यकर्मीहरु ७ दिनपछि कोरोना नेगेटिभ देखिएमा र लक्षण नदेखिएको खण्डमा काममा फर्कनसक्ने नियम ल्याएको थियो । यस अगाडि यो नियम १० दिनका लागि रहेको थियो । कामदारको अभावका कारण आइसोलेसन अवधि ५ दिनबाट पनि घटाउन सकिने सीडीसीले जनाएको छ ।






