दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने


प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार

दक्षिण अफ्रिका लगायतका ८ देशबाट अमेरिका आउनमा लगाइएको रोक हटाइने भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गत महिना अमेरिकाले विभिन्न ८ वटा देशबाट अमेरिका आउनमा रोक लगाएको थियो ।

डिसेम्बर ३१ सुरु हुने बित्तिकै लागु हुनेगरी यस्तो प्रतिबन्ध हटाइने ह्वाइट हाउसले जनाएको छ । विगत १४ दिनभित्र ती ८ देशमा उपस्थीत भएकाहरुलाई पनि अमेरिका प्रवेशको अनुमति दिइने छ ।

अमेरिकाले गत नोभेम्बर २९ देखि साउथ अफ्रिका, बोत्सावना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मालावीबाट गैर अमेरिकी नागरिकबाहेकका अन्यलाई अमेरिका आउनमा रोक लगाएका थिए । ह्वाइट हाउसका प्रवक्ता केभिन मुनोजले ट्वीटमार्फत यात्रा प्रतिबन्ध हटाउन लागिएको बताएका छन् ।

सीडीसीको सिफारिसपछि यस्तो निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ । विगतमा लगाएको प्रतिबन्धले ओमिक्रोन भेरियन्टलाई बुझ्न समय प्राप्त भएको तथा अहिलेका भ्याक्सिनहरुले ओमिक्रोन भेरियन्टबिरुद्ध काम गर्ने पाइएको ह्वाइट हाउस प्रवक्ता मुनोजले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com