ओमिक्रोनको संक्रमण बढेपछि क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा ५ सयभन्दा बढी उडान रद्द
प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार
ओमिक्रोनको संक्रमण बढेपछि क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा ५ सयभन्दा बढी उडान रद्द गरिएको छ । युनाइटेड, डेल्टा लगायत अन्य अमेरिकी एयरलाइन्सहरुले ५ सयभन्दा बढी उडान रद्द गरेको जनाएका छन् ।
टीएसएले चाडपर्वको बेलामा मान्छेको आवतजावत कोरोना महामारीभन्दा अगाडिकै स्तरमा पुगेको बताएलगत्तै यी एयरलाइन्सहरुले उडानहरु रद्द गरेका हुन् । देशब्यापीरुपमा कोरोनाको संक्रमण बृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव उडानका कर्मचारीहरु र कार्य संचालन गर्ने व्यक्तिमा परेको एयरलाइन्सहरुले जनाएका छन् ।

उडानहरु रद्द गरिएपछि यसबारे प्रभावित यात्रुहरुलाई जानकारी दिइएको छ । यात्रुहरुलाई विमानस्थल आउनु अगाडि नै रद्द गरिएका उडानबारे जानकारी दिइएको थियो । शुक्रबार मध्यदिनसम्म डिसेम्बर २४ का लागि तय भएका ५२५ वटा उडानहरु रद्द गरिएको छ । यी उडानहरु अमेरिकाभित्रका, अमेरिका आउने र अमेरिकाबाहिर जाने उडानहरु समेत हुन् ।
युनाइटेडलेमात्र १७५ भन्दा धेरै उडानहरु रद्द गरेको छ । डेल्टाले १५० भन्दा धेरै र जेट ब्लुले ७२ भन्दा धेरै उडानहरु रद्द गरेको छ । एयरलाइन्सहरुले उडान रद्द गर्नुपरेकोमा क्षमा मागेका छन् । विश्वभर क्रिसमसको पूर्व सन्ध्याका २२ सय उडानहरु रद्द गरिएका छन् ।






