सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती, कैलाली र कञ्चनपुरमा मात्रै ७०० बढी व्यक्ति पीडित


प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार

पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ । प्रौढ समेत सो रोगबाट ग्रस्त छन् । बिहीवार मात्र ४०१ को रगत परीक्षण गरिएको मध्ये १७ जनामा सिकलसेल एनिमियाको ट्रेट(बाहक) फेला परेको छ । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा स्वास्थ्य कार्यालय कञ्चनपुरले सिकलसेल एनिमिया पहिचान तथा निदानका लागि निःशुल्क रगत परीक्षण शिविर आयोजना गरेको थियो ।
कृष्णपुर नगरपालिका–४ मा दुई दिन अघि सिकलसेल एनिमियासम्बन्धी आयोजना गरिएको निःशुल्क शिविरमा ३६५ जनाको रगत परीक्षण गरिएका मध्ये ४२ जनामा ट्रेट ९बाहक० फेला परेको थियो । कार्यालयका सिकलसेल एनियमियाका स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार बाहक फेला परेका व्यक्तिको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको जानकारी दिनुभयो । सिकलसेल एनिमिया भए नभएको बारे सात दिनभित्र परीक्षण नतिजा आउने उहाँले बताउनुभयो ।

थप परीक्षण पछि मात्रै बाहक मात्रै हो वा सिकलसेल एनिमिया हो भन्नेबारे जानकारी हुने बताइएको छ । “सिकलसेल एनिमियाको अर्ध दोषयुक्त जिनलाई हेटेरोगेस टे«ट भन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिकलसेल एनियमयाको अर्ध दोषयुक्त गुण बोकेको व्यक्तिमा एनिमियाका लक्षण देखा पर्दैनन् ।” सिकलसेल एनिमिया रोग पहिचान नभएका रोगीहरुको सङ्ख्या गाउँ घरमा धेरै भएको अनुमान गरिए पनि यकिन विवरण भने कुनै निकायसँग छैन । सिकलसेल एनिमियाको उपचार पद्धति निकै खर्चिलो हँुदा सर्वसाधारणले यस रोगको उपचार गर्न निकै सास्ती बेहोर्नुपर्छ । कैलालीको सेती अस्पतालमा मात्रै रोग पहिचानको व्यवस्था मिलाइएको छ ।

सिकलसेल एनिमिया देखा परे बिरामीलाई उपचारका लागि सरकारका तर्फबाट रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । जीवनभर रोगीले औषधि खानुपर्ने भएकाले रु एक लाख अपर्याप्त भएको सिकलसेलबाट सङ्क्रमितको भनाइ रहेको छ । अनुदानबापत पाइने रु एक लाख बिरामीलाई नगद उपलब्ध गराउने नभई अस्पतालले त्यस मूल्य बराबरको औषधि रोगीलाई उपलब्ध गराउने गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्ट सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोगका रुपमा रहेको बताउनुहुन्छ । यसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउदै लैजान्छ । सिकलसेल भएका व्यक्तिमा शरीरका विभिन्न अङ्गमा अक्सिजन सहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अङ्गमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु-याउने उहाँको भनाइ छ । “आमाबाबु दुवैमा सिकलसेल एनिमिया भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।”

रातो रक्तकोषको आकार परिवर्तन भई हँसियाको रूप जस्तै घुमेको अर्ध चन्द्रकारमा रक्त कोषिका रहने गर्दछन् । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ यस्तो अवस्थामा फोक्सो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ ।

त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ । स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल भएको व्यक्तिको हँसिया आकारको हुन्छ । यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुने चिकित्सक बताउँदछन् ।

सिकलसेल रोग वंशानुगत रोग भएकाले परिवारमा यस्तो रोगबाट पीडित व्यक्ति भएमा रगत परीक्षण गरेर मात्रै विवाह गर्ने उमेर पुगेका युवाले विवाह गर्दा उपयुक्त हुने जनाइएको छ । सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाइका प्रमुख गौरीदत्त जोशीका अनुसार सिकलसेलबाट कैलाली र कञ्चनपुरका गरी ७०० बढी व्यक्ति पीडित छन् ।

“यो रोग विशेष गरी थारु समुदायमा चुनौतीमा रुपमा देखा परेको छ”, उहाँले भन्नुभयो, “रोग पहिचान र निदानका लागि हालसम्म भएका प्रयास पर्याप्त छैनन् । यसलाई विस्तार र सेवालाई बिरामीको पहुँचमा पु-याउनु पर्छ ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com