न्युयोर्कमा कोरोना भ्याक्सिन कार्डमा फर्जी गर्नेलाई १ बर्ष जेल सजाय हुने कानूनमा हस्ताक्षर
प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार
न्युयोर्कमा कोरोनाको भ्याक्सिन कार्डमा फर्जी गर्नलाई १ बर्ष जेल सजाय हुने भएको छ । गभर्नर क्याथी होचुलले बुधबार भ्याक्सिनमा फर्जी गर्ने गतिविधि ए श्रेणीको दुश्कर्म र भ्याक्सिनबारेको कम्प्युटर रेकर्डमा छेडछाड गर्नु ई श्रेणीको अपराध हुने कानूनमा हस्ताक्षर गरेकी हुन् ।
बिलमा कोभिड भ्याक्सिननेशन कार्डमा जालजासी गर्नेलाई १ बर्ष जेल सजाय वा ३ बर्ष कैद बाहिरको नियन्त्रण सजाय हुने स्पष्ट व्यवस्था गरिएको छ । यदि भ्याक्सिनबारेको कम्प्युटर रेकर्डमा छेडछाड गरेको खण्डमा हुने ई श्रेणीको अपराधमा भने ४ बर्षसम्मको जेल सजाय हुनसक्नेछ ।

यो कानूनले व्यक्तिलाई आफ्नो भ्याक्सिनको अवस्थाबारे झूठो बोल्न र जालसाजी गर्नबाट रोक्ने अपेक्षा गरिएको छ । सार्वजनिक स्वास्थ्यको सुरक्षा र आर्थिक रिकभरी सुनिश्चित गर्नका लागि यो कानूनले काम गर्ने न्युयोर्क राज्यको संसदमा प्रतिनिधित्व गर्ने सिनेटर अन्ना एम कप्लानको भनाई छ ।
अमेरिकामा कैयन स्थलमा प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिएपछि भ्याक्सिनमा जालसाजीका घटनाहरु पनि बाहिर आएका छन् । कतिपयले जागिर वा यात्राका नियमहरु छल्न समेत नक्कली भ्याक्सिन कार्डहरु प्रयोग गरेका घटनाहरु समेत सार्वजनिक भएका छन् ।






