न्युयोर्कका नवनिवार्चित मेयर एरिक आडम्सको पदभारको सार्वजनिक समारोह स्थगित
प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार
न्युयोर्कका नवनिवार्चित मेयर एरिक आडम्सले जनवरी १ को पदभार ग्रहण सार्वजनिक समारोह स्थगित गर्ने घोषणा गरेका छन् । आगामी जनवरी १ बाट न्युयोर्क मेयरको जिम्मेबारी लिंदै गरेका आडम्सले औपचारिक पदभार ग्रहण समारोहविना नै कार्यभार सम्हाल्ने भएका छन् ।
आफूलाई न्युयोर्क सिटीको मेयरका रुपमा काम गर्न कुनै समारोहको आवश्यक नपर्ने तथा केबल एउटा चकटी र भुई भए पुग्ने उनले बताएका छन् । न्युयोर्कमा कोरोनाको संक्रमण बढ्दै गएपछि आडम्सले यस्तो घोषणा गरेका हुन् । उक्त समारोह जनवरी १ मा बु्रकलिनको किंग्स थियटरमा आयोजना गर्ने तय भएको थियो ।
अहिले आफूले मान्छेहरुलाई खतरामा धकेल्न नचाहेकाले समारोहको कार्यक्रम त्याग्ने योजना बनाएको उनले बताए । समारोह विना नै नेतृत्व गर्न आफू तयार रहेको उनको भनाई छ । आफू न्युयोर्क सिटीको नेतृत्व गर्न योग्य रहको र जनताले आफूलाई न्युयोर्क सिटीको मेयरका रुपमा छानेको उनले बताए ।
एरिक आडम्स, नवनिर्वाचित कम्प्ट्रोलर ब्राड ल्याण्डर र पब्लिक एड्भोकेट जुमान विलियम्सले संयुक्त वक्तव्य जारी गर्दै कोरोनाको ओमिक्रोनको संक्रमण बढिरहेको सन्दर्भमा स्वास्थ्यविदहरुसँगको छलफलपछि पदभार ग्रहण समारोह पछिको मितिमा हुनेगरी स्थगित गरिएको घोषणा गरेका छन् । स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उनीहरुले न्युयोर्कबासीहरुलाई भ्याक्सिन लगाउन, बुस्टर शट लगाउन र कोरोनाको परीक्षण गराउन प्रोत्साहित गरेका छन् ।






