ओमिक्रोनको त्रास : नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउनको घोषणा


प्रकाशित मिति : पुस ४, २०७८ आईतबार

नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ ।

प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक रुपमा फैलिन सुरु भएपछि युरोपेली देशले प्रतिबन्धलाई कडा पारेका छन् । हालसम्मकै सबैभन्दा कडा मानिएको नेदरल्याण्डको नयाँ नियम आइतबारदेखि लागू हुनेछ ।

‘म आज यहाँ निकै उदास मूडमा उभिइरहेको छु, मलाई हेरिरहेका धेरै मानिसले पनि यस्तै महसुस गर्नेछन्,’ रुथले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने । ‘यसलाई एक शब्दमा भन्नुपर्दा, नेदरल्याण्डमा भोलिदेखि लकडाउन लागू गरिनेछ ।’

नयाँ नियम अनुसार मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । १३ वर्ष र सोभन्दा माथिका दुई जनालाई आफन्तकोमा जान अनुमति दिइनेछ । यस्तै २४ र २६ डिसेम्बर र नयाँ वर्षको पूर्व सन्ध्या र नयाँ वर्षको दिनमा चारजना व्यक्ति आफन्तको घरमा जान पाउनेछन् ।डच नेशनल इन्स्टिच्यूट फर पब्लिक हेल्थले कोरोना महामारी सुरु भएदेखि यहाँ २९ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको र २० हजार बढीको मृत्यु भएको जानकारी दिएको छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com