अमेरिकाका ५ राज्यमा २४ आँधी, कम्तीमा ५० जनाको मृत्यु, मृतकको संख्या दोब्बर हुने अनुमान
प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार
The Amazon distribution center in Edwardsville, Il. is partially collapsed after being hit by a tornado on Friday, Dec. 10, 2021. Photo by Robert Cohen, [email protected]
केन्टकीमा आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको र अबको केही घण्टामा यो संख्या ७० भन्दा बढी हुनसक्ने केन्टकीका गभर्नर एन्डी बेशियरले बताएका छन् । यो आँधीबेहरीबाट एकसयजनासम्मको ज्यान जानसक्ने उनले अनुमान गरेका छन् ।
शुक्रबार राती दक्षिणपश्चिम केन्टकीका कैयन भाग आँधीबेहरीको चपेटमा परेका छन् । केन्टकीको इतिहासमा नै सबैभन्दा खराब आँधीबेहरी भएको गभर्नरको भनाई छ । राज्यका कम्तीमा १५ काउन्टीहरुबाट क्षतिका विवरणहरु आएका छन् । सबैभन्दा खराब क्षति ग्रेभ्स काउन्टीमा भएको छ ।
आँधिबेहरी आउँदा मेफिल्ड सिटीमा एउटा मैनबत्ति उद्योगमा झण्डै ११० जनाले काम गरिरहेको र उनीहरुमध्ये दर्जनौंले ज्यान गुमाएको जनाइएको छ । यो सिटीमा झण्डै १० हजार जनाको बसोबास रहेको छ ।

अर्कान्सास र इलिनोयमा पनि आँधिबेहरीका कारण कैयनको ज्यान गएको छ । पाँचवटा राज्यहरु अर्कान्सास, इलिनोय, केन्टकी, मिजौरी र टेनेसीमा कम्तीमा २४ वटा आँधीबेहरी रिपोर्ट गरिएको छ । सप्ताहन्तमा मौषम अझ खराब बन्दै जाने मौषमविदहरुले चेतावनी दिएका छन् ।
उत्तरपूर्वी अर्कान्सासमा कम्तीमा एकजनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् । त्यस्तै लेचभिलमा अर्को एकजनाको मृत्यु भएको छ । इलिनोयमा अमेजनको वायरहाउसमा क्षति पुग्दा कैयनले ज्यान गुमाएको जनाइएको छ ।
आँधीबेहरीबाट टेनेसीमा १ लाख ३२ हजार भन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यस्तै केन्टकीमा ६० हजार, अर्कान्सासमा २५ हजारभन्दा धेरै, इलिनोयमा २४ हजार भन्दा धेरै र मिजौरीमा १० हजारभन्दा धेरै घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । शनिबार विहानसम्म ३ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जनाइएको छ ।






